फाइल तस्बिर
काठमाडाैं- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने बताएका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताए।
राष्ट्रिय सभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन्। आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको उनको भनाइ थियो।
'एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि। दुईतिर तिनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो। अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो। पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु,' उनले भने।
आफूले एकताको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा राखेकोसमेत बताए। 'हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा वामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ। यस्तो बेलामा नआत्ति सबै साथीहरुलाई धैर्यधारण गरेर प्रयत्न गर्नुहोस् भनेर मैले अरुलाई भनेको छु। म त्यसको लागि प्रयत्नशील छु। लागिरहेको छु,' उपाध्यक्ष गाैतमले भने, 'माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ। यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन। म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ, त्यतातिर लागिरहेको छु।'
यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेशपछि सम्भव हुने बताए। उनले भने, 'एकता सम्भव छ। अहिले सम्भव नहोला। सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।