फाइल तस्बिर
काठमाडाैं- नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन्।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए। भेटमा प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको उनले जानकारी दिए।
राष्ट्रियसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा नेता नेपालसँगको भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताएका हुन्।
'माधव कमरेडकोमा गएका थियौं- म, सुवासजी र शंकरजी भएर। उहाँसँग एकछिन कुराकानी भयो। हामीले पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ भनेर आग्रह गर्याैं,' पौडेलले भने, 'हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन्। तपाईंहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि। हामी पनि आपसमा विभिन्न साथीहरुसँग छलफलमा छौं।'
उनले थपे, 'समाधान खोजेर अगाडि जाउँ। पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस् हामी त्यो चाहन्छौं भनेर हामीले प्रस्ताव राख्यौं। उहाँले प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो।'
नेत नेपालले प्रधानमन्त्रीसँग भेट्ने कुरामा खासै रुचि नराखेपछि आफूहरु 'ठीकै छ छलफल गर्दे जाउँ' भनेर उठेको उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।