वासिङ्टनः उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएका छन्।
बेलायती समाचार संस्था रोयटर्स्का अनुसार उत्तर कोरियाली नेताले पठाएको पत्र शुक्रबार एक उच्च उत्तर कोरियाली अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाउने छन्।
उत्तर कोरियाको गुप्तचर संस्थाका पूर्वप्रमुख किम योङ चोल अहिले अमेरिका छन् भने शुक्रबार उनैले अमेरिकी राष्ट्रपतिलाई उक्त पत्र दिनेछन्।
बिहीबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेताको पत्रको अपेक्षा गरिरहेको बताएका थिए।
उत्तर कोरिया र दक्षिण कोरियाबीच शान्तिवार्ता पछि आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हुने भनिएको शिखर बैठकको तयारी थालिएको छ। दुई देशका राष्ट्रप्रमुखबीच हुने भनिएको सो भेटवार्ताका लागि हाल दुवै राष्ट्रका प्रतिनिधिमण्डल तयारीमा व्यस्त छन्।
वार्ताको क्रममा अमेरिकाले उत्तर कोरियालाई आफ्नो आणविक कार्यक्रम सदाको लागि अन्त्य गर्न दबाब दिने अपेक्षा गरिएको छ। तर राष्ट्रपति ट्रम्पले भने एक पटकको वार्ताबाट यो सम्भव नरहेको बताएका छन्।
‘मलाई यी सबै कुरा एकपटकको वार्ताबाटै समाधान गर्न मन छ तर सधैं यो तरिकाले समाधान ननिस्कन सक्छ। यो कुरा एकैपटकमा समाधान हुन्छ भन्ने सम्भाव्यता निकै कम छ। सायद यो एकपटक वा दुई पटक वा तीन पटकको वार्ताबाट समाधान नहुन सक्छ तर यो कुनै न कुनै बिन्दुमा पुगेर पक्कै पनि समाधान हुन्छ’, ट्रम्पले रोयटर्स्लाई भने।
शुक्रबार किम जोङ उनको पत्र राष्ट्रपति ट्रम्पले ओभल अफिसमा लिनेछन् वा छैनन् तथा भेटको तालिका अझै पनि टुंगो लागिनसकेको ह्वाइट हाउसकी प्रवक्ता होगन गिड्लेले बताइन्। तर शुक्रबार नै उक्त पत्र हस्तान्तरण हुने उनले प्रष्ट पारिन्।
शुक्रबार उत्तर कोरियाली नेताको पत्र अमेरिकी राष्ट्रपतिलाई बुझाउने भनिएको भएपनि पत्रको विषयवस्तुबारे केही पनि बताइएको छैन। तर अमेरिकी राष्ट्रपतिले दुई देशका राष्ट्रप्रमुखबीच हुने भनिएको वार्ता पुनः गराउन चाहेमा आफुलाई फोनमार्फत वा लिखित रुपमा वार्तामा सहभागी हुन आफु इच्छुक रहेको जनाउ दिन सुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।