काठमाडौं- निर्णायक खेलमा कोसोभोलाई २–० ले हराएर विश्वकप फुटबलमा पहिलो पटक छनोट भएको आइसल्यान्डले इतिहास बनाएको थियो। आइसल्यान्डले जनसंख्याको आधारमा विश्वकपमा छनोट हुने सबैभन्दा सानो देशको रेकर्ड बनाएको हो।
आइसल्यान्डको जनसंख्या ३ लाख ३५ हजार मात्र छ। यसअघि विश्वकप खेल्ने सानो देश ट्रिनिडाड एन्ड टोबाको थियो। सन् २००६ को विश्वकप खेलेको ट्रिनिडाड एन्ड टोबाकोको जनसंख्या १३ लाख छ।
जेठ ३१ देखि रसियामा हुने विश्वकप फुटबलमा आइसल्यान्ड समूह 'डी' मा छ। यो समूहमा आइसल्यान्डसँगै अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया छन्। आइसल्यान्डले पहिलो खेल १६ मा दुई पटकको विश्वविजेता अर्जेन्टिनासँग खेल्नेछ।

आइसल्यान्ड गत वर्ष भएको युरो कपमा पनि पहिलो पटक छनोट हुने टिम मात्र होइन युरो कप खेल्ने सानो देश बनेको थियो। आइसल्यान्डले युरो कपको पहिलो सहभागितामै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। युरो कपको डेब्यू खेलमा आइसल्यान्डले पोर्चुगललाई बराबरीमा रोकेको थियो।
आइसल्यान्ड १९८९ मा स्वतन्त्र राष्ट्र बनेको थियो । आइसल्यान्डको जनसंख्याको १० प्रतिशत जनता युरोकपमा देशको समर्थन गर्न फ्रान्स पुगेका थिए। आइसल्यान्डको टोलीका सबै खेलाडीको नाम पछाडिको अन्तिम शब्द ‘सन’ छ। खेलाडीको मात्र होइन, आइसल्यान्डका प्रत्येक पुरुषको नामको अन्तिम शब्द सन राख्ने प्रचलन छ। महिलाको नामपछाडि भने डोटिर राखिन्छ।
'चिसो मुलुक' आइसल्यान्डको प्रमुख व्यवसाय पर्यटन हो।
आइसल्यान्ड सन् २०११ मा फिफा वरीयता सूचीको १ सय ४औँ स्थानमा थियो। तीन वर्षअघि युरोकप छनोटका लागि हेइमिर हालग्रिमसनले प्रशिक्षण सम्हालेपछि आइसल्यान्डको खेल स्तर सुध्रियो। युरो कपको छनोट चरणमा आइसल्यान्डले २००६ को विश्वकप उपविजेता नेदरल्यान्डलाई पराजित गरेको थियो। आइसल्यान्ड हाल फिफा वरीयतामा २२औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।