सर्लाही । लखनदेई खोलामा आएको बाढीले बाँध भत्काउँदा सर्लाहीको मलङ्गवा नगरपालिका–५ स्थित भाडसर डुबानमा परेको छ । बाढीले भाडसर गाउँलाई चारैतिरबाट घेरेपछि बस्ती टापुजस्तै बनेको छ। यस्तै, मलङ्गवा–६ खुटौनाको केही भूभागसमेत डुबानमा परेको छ भने हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली बाढीको पानीले डुबाएको छ ।
आइतबार लखनदेई खोलामा आएको बाढीले बाँध भत्किएको छ । बाँध भत्किएसँगै बाढीको पानी बस्ती तथा खेतीयोग्य जमिनतर्फ पसेको मलङ्गवा—६ खुटौनाका स्थानीय गफार खानले जानकारी दिए ।
बाढीले मलङ्गवा नगरपालिका–५ भाडसरलाई चारैतिरबाट घेरेपछि बस्ती टापुमा परिणत भएको छ । बस्तीमा आवतजावत गर्नसमेत कठिनाइ भएको स्थानीयवासी बिजय यादवले बताए ।
यस्तै, मलङ्गवा नगरपालिका–६ खुटौनाको केही भाग पनि बाढीको पानीले डुबानमा परेको छ । बाढीको पानी बस्ती तथा खेतबारीमा पस्दा स्थानीयको जनजीवन प्रभावित भएको छ ।
बाढीका कारण ठुलो क्षेत्रफलमा लगाइएको धान बालीसमेत डुबानमा परेको छ । हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेत पानीमा डुबेपछि किसानले लगाएको बाली नष्ट हुने अवस्था आएको छ । धान बालीमा भएको क्षतिले किसानलाई ठुलो आर्थिक नोक्सानी हुने देखिएको छ ।
डुबान प्रभावित क्षेत्रमा बाढीको पानीको सतह बढ्दै गएमा थप बस्ती तथा कृषि क्षेत्र प्रभावित हुन सक्ने स्थानीयको चिन्ता छ । प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा तत्काल राहत र क्षतिको विवरण संकलन गर्न सम्बन्धित निकायको सक्रियता आवश्यक देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।