काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद भएका स्थानमा १४औं महाधिवेशनका बेला पनि १३औं महाधिवेशनकै प्रतिनिधि कायम गर्ने भएको छ।
सभापति शेर बहादुर देउवाले क्रियाशील सदस्यताको सम्बन्धमा देशभरको जानकारी लिएका थिए। बुढानीलकण्ठ स्थित निवासमा देउवाले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य र अन्य केही नेतालाई डाकेका थिए।
'क्रियाशील सदस्यताको देशभरको अवस्था बुझ्न समिति सदस्यलाई सभापतिले बोलाउनुभएको थियो। उपस्थित केही सदस्यले देशभरको ब्रिफिङ गर्नुभयो,' नेता एनपी साउँदले भने।
समितिले समाधान निकाल्न सक्ने स्थानमा क्रियाशील सदस्य टुंग्याउने उनले बताए। जटिल प्रकारको विवाद भए १३ औं महाधिवेशनका प्रतिनिधि कायम गर्ने निर्णय भएको छ।
करिब ५ सय वडामा क्रियाशील सदस्यताको विवाद छ। विधानको पालना नगरी नाम सूचीकृत भएको समितिले जनाएको छ। क्रियाशील सदस्यतामा सबै भन्दा बढी विवाद प्रदेश २ का ८ जिल्लामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।