वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताएका छन्।
सिङ्गापुरमा आगामी जुन १२ मा हुनेगरी तय भएको शिखर वार्तालाई यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई एक पत्र लेखी तत्कालका लागि सम्भव नभएको जनाउएका थिए। तर पछि उत्तर कोरियाली पक्षबाट वार्ताका लागि गरेको सकारात्मक प्रयासपछि अमेरिकाले वार्ता पूर्व निर्धारित समयमा नै हुन सक्ने बताएको थियो।
दुई देशका कूटनीतिक अधिकारीले वार्तालाई आगामी जुन १२ मा सिङ्गापुरमा नै गर्नेगरी पहल जारी राखेका छन्।
एक दिनका लागि टेक्सास जानुपूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भने,‘म उत्तर कोरियाली नेता किमले लेखेको पत्रमा के छ पर्खीरहेको छु। उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलसहित पत्र सम्भवत शुक्रबार वासिङ्टन आइपुग्नेछ।’
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र यस पहिले नै अमेरिका पुगेका उत्तर कोरियाली अधिकारी किम योङ चोलबीच बिहीबार पनि न्यूयोर्कमा वार्ता भएको र वार्ता निकै सकारात्मक रूपमा अघि बढेको ट्रम्पले बताए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।