फाइल तस्बिर काठमाडाैं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु भएको बताएका छन्। मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटइजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताए।
'कोभिडपछि डिजिटल अर्थतन्त्रको महत्त्व थप बढेको छ, डिजिटाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलाप थप सहज बनाउनेछ,' उनले भने। अर्थमन्त्री पौडेलले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता भएको बताए।
उनले मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी’ को लोगो अनावरण गरेका थिए।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग पुगेको बताए। कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्त्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकांश कुराहरु डिजिटाइजेसन भएको उल्लेख गरे।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटाइजेसनलाई महत्त्व दिएको बताए। उनले समय बदलिएको उल्लेख गर्दै आर्थिक क्षेत्रमा डिजिटाइजेसनको महत्त्व बढेको बताए।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै त्यसको विस्तारका लागि डिजिटाइजेसन महत्त्वपूर्ण हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।