पेसावर (एजेन्सी)– अफगानिस्तानका तालिबान र अफगान सरकार प्रतिनिधिबीच वार्ता भएको अफगानिस्तानमा रहेका अमेरिकी सैनिक जनरल जोन निकोल्सनले खुलासा गरेका छन्।
अफगान सरकारले गत फेब्रुअरीमा तालिबानसँग शान्तिवार्ताका लागि प्रस्ताव गरे पनि तालिबानले यसको जवाफ दिएको थिएन। तर, हालै भएको भनिएको वार्ता तालिबानभित्रकै एक खेमा भएको निकोल्सनले बताएको अफगानिस्तानको समाचार संस्था पजह्वाकले उल्लेख गरेको छ।
साथै, निकोल्सनले तालिबानसँग यस्ता थुप्रै कूटनीतिक संवाद र भेटवार्ता भइरहेको पनि खुलाएका छन्।
उनले वार्तामा संलग्न र वार्ता भइरहेको स्थानबारे केही पनि खुलाउन नचाहेको समाचारमा उल्लेख छ। तर, उनले वार्तामा अफगान तालिबान र अफगान सरकारका साथै केही अन्तर्राष्ट्रिय संस्थाहरु पनि संलग्न रहेको प्रस्ट पारेका छन्।
गत फेब्रुअरीमा शान्तिवार्ताका लागि आह्वान गर्दा अफगान राष्ट्रपति असरफ घानीले तालिबानले युद्धविरामसँगै संविधान स्वीकार गरे राजनीतिक पार्टीको हैसियत दिनसकिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।