काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री बसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन्।
मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशमा समृद्धि हासिल हुने बताएका हुन्।
कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताए। देशको समृद्धिको मुल आधार कृषि क्षेत्र भएको उनको भनाइ छ।
मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको उल्लेख गरे। सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको उनको भनाइ छ।
‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको अहमता, व्यापकता र आवश्यकतालाई अत्यन्तै ध्यान दिनु जरुरी छ। परम्परा र सांस्कृतिक रुपमा, महोत्सवको रुपमा, यसको उत्पादकत्व बढाउने कुरा, आधुनिकीकरण गर्दै उचित भण्डारण र व्यवस्थापन गर्दै लाने कुरामा स्पष्ट नीतिहरू बन्दैछ’, मन्त्री नेम्वाङले भने।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको बताए। मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उनले आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।