काठमाडाैं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक वर्षमात्रै पार्टी सभापति भएर पद हस्तान्तरण गर्ने नयाँ प्रस्ताव अघि सारेका छन्।
सभापतिका प्रत्यासी डा शेखर कोइरालासँगको सोमबारको भेटमा पौडेलले एक वर्षमात्रै पार्टीको मूल नेतृत्वमा रहने बताएका हुन्। पौडेलले सभापतिमा विजयी हुनका लागि शेखरको साथ खोजेका थिए। दुई नेताको भेटमा पौडेलले राखेको प्रस्तावबारे स्रोतले भन्यो, ‘सभापतिमा मलाई सघाउनुस्। एक वर्षपछि सभापतिको पद तपाईलाई नै हस्तान्तरण गर्छु।’
पौडेलले आफूले निष्ठाको राजनीति गर्दै आएको बताएका थिए। पार्टी नेतृत्व सञ्चालन गर्ने आफूसँग भिजन भएको समेत दोहोर्याएका थिए। मन्त्री पदमा रहँदा उदाहरणीय कार्य गरेको उनले शेखरलाई सुनाएका थिए।
देश निर्माणको भिजन भएको व्यक्ति पार्टी सभापति भन्दा प्रधानमन्त्री हुन उपयुक्त हुने शेखरको जिकिर थियो। सभापतिमा सघाउन पौडेलले गरेको आग्रहमा शेखरले भने, ‘तपाई प्रधानमन्त्री बन्नुस्। त्यसका लागि म पनि सघाउँछु। म प्रधानन्त्री बन्ने दाबी गर्दिन। देश निर्माणको भिजन पूरा गर्न सभापति भएर सम्भव हुँदैन।’
संस्थापनइतरबाट पौडेललाई सभापतिमा अघि सार्न त्यही समूहका नेताहरु तयार छैनन्। शेखरसहित महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह सभापतिको प्रत्यासी बन्ने लाइनमा छन्। गत साता पौडेल पक्षको बैठकमा नेता सिंहले सभापति पद पौडेललाई छोड्न नसक्ने बताइसकेका छन्। कोइराला परिवारकै सदस्य सुजाता कोइरालाले पनि सभापतिमा आफ्नो दाबी गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।