काठमाडौं– लोकतन्त्र बलियो हुन कांगे्रस सुदृढ हुनुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन्। लोकतन्त्रका लागि हाम्रो अभियानले सोमबार आयोजना गरेको ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन र अबको बाटो’ विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल अन्तरक्रियामा उनले लोकतन्त्रको रक्षाका लागि नै कांग्रेसको स्थापना भएको बताए।
पार्टीले मुलुक र जनताका लागि गरेको कामबारे प्रचारप्रसार गर्नु जरुरी रहेको उनको भनाइ थियो। ‘संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने पार्टीले किन निर्वाचनमा कम भोट ल्यायो यसबारे पार्टीभित्र समीक्षा हुनुपर्छ,’ उनले भने।
सहमहामन्त्री महतले कांग्रेसभित्र पार्टीभन्दा व्यक्ति बलियो भएकाले समस्या उत्पन्न भएको समेत बताएका छन्। संविधान र कानुनको परिपालना गर्ने पार्टी कांग्रेसले कोरोना महामारी र बाढी पहिरोको चुनौतीबीच समयमा नै महाधिवेशन सम्पन्न गर्ने उनले स्पष्ट पारे।
पार्टीभित्र संगठन गर्ने शैलीमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको उनको भनाइ थियो। सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको समेत उनले बताए।
कार्यक्रम संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई बलियो बनाउनका लागि आफूले उक्त अभियान सञ्चालन गरेको बताइन्। यसअघि यस्तो अभियान प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।