काठमाडाैं- चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ। इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरिसक्ने बताएका छन्।
बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए। केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उनले बताए।
‘भन्सारका लागि र क्वारेन्टिनका लागि विल्डिङ तयार भइसकेको छ। प्रशासनिक भवन निर्माण भइसकेको छ। एप्रिजल सेट जहाँ चेकजाँच गरिन्छ। तीन वटा तयार भइसकेका छन्। ठूला-ठूला गोदामहरु दुई वटा निर्माण भइसकेका छन्,' उनले भने।
उनका अनुसार कन्टेनर यार्ड, पार्किङ यार्डहरु बनिसकेका छन्। तीनवटै गेट धमाधम सकिने स्थितिमा छ। ड्राइभरका लागि खाना पकाउने ठाउँ, ट्वाइलेट, बाथरुमसमेत बनिसकेको उनले बताए। 'अब सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौं,' कार्यकारी निर्देशक गजुरेलले भने।
काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सीधै काठमाडौंमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी उनले बताए। ‘बाहिरी देशबाट आउने सामानहरु जो काठमाडौंको गन्तव्य हुन्छ। उहाँहरुले म वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर गर्दिनँ सीधैँ काठमाडौंमा क्लियर गर्छु भन्दा यो सञ्चालनमा आएपछि यहीँ ल्याएर क्लियर गर्न सक्नुहुन्छ,' गजुरेलले भने, 'व्यापारलाई सहजीकरण गर्ने, सामानको ढुवानी, ओसारपसार गर्ने मूल्य घटाउन यसले महत्त्वपूर्ण योगदान दिनेछ।'
अहिले पनि तेस्रो मुलुकबाट आउने अथवा नेपाल, भारत, चीनबाट आएको ६० देखि ७० प्रतिशत सामान त काठमाडौंमा नै आइराखेको उनले बताए। भोलिको दिनमा काठमाडौंको सामान काठमाडौंमा नै क्लियर हुने अवसर चोभारस्थित सुख्खा बन्दरगाहले दिने उनको भनाइ छ। 'यसले व्यापार सहजीकरण पनि गर्छ। लजिस्टिक कस्ट कम गर्छ। त्यसैले यो बन्दरगाह महत्त्वपूर्ण छ,’ उनले भने।
वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसारपसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनले बताए। पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामान ढुवानी गरिने उनले जानकारी दिए। बन्दरगाहको लागत अनुमान एक अर्ब ८० करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।