काठमाडाैं- विश्व बैंकले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रको उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
उक्त ऋणसम्बन्धी सम्झाैतापत्रमा नेपाल सरकार र विश्व बैंकबीच आइतबार सम्झाैता भएको छ। अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थसचिव ढुंगानाले यो सम्झौताअन्तर्गत प्राप्त हुने रकम कोभिड-१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जीवन दिन, आर्थिक गतिविधिलाई तीव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताए। चालु आर्थिक वर्षमै विनियोजन गरिएको पूर्वाधार निर्माणतर्फको खर्चका लागि यो रकम आगामी आर्थिक वर्षभित्र परिचालन हुने उनले बताए।
कार्यक्रममा बोल्दै माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले यस आयोजनाले कोभिड-१९ को महामारीका बेला र महामारीपछि पनि नेपालमा दिगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए। कोभिड महामारीको समयमा मानिसको जीवनरक्षा तथा अर्थ व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरुलाई सघाउन विश्व बैंक प्रतिबद्ध रहेको पनि उनले बताए।
यस आयोजनाले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशील बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।