मस्को– रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन्। उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने समाचारमा जनाइएको छ।
उनी बिहीबारसम्म मात्र उत्तर कोरियामा रहने बताइएको छ। यी दुई देशले यस वर्ष कूटनीतिक समबन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइरहेका छन्।
रुसी विदेश मन्त्रालयद्वारा बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा विदेश मन्त्री लाभरोभ उत्तर कोरिया पुग्ने र त्यस देशको आणविक कार्यक्रम र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी गर्ने जनाइएको छ।
उक्त विज्ञप्तिमा विदेश मन्त्री लाभरोभले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हिसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ। हिकै आमन्त्रणमा विदेश मन्त्री लाभरोभ उत्तर कोरिया पुगेका हुन्।
भेटका क्रममा उत्तर कोरियाले हालैका दिनमा लिएको आणविक अस्त्र उत्पादन नीति, गत हप्तामात्र उत्तर कोरियाले भत्काएको आणविक परीक्षण स्थलका विषयमा पनि वार्ता हुने बताइएको छ।
अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला रुसी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिइएको विश्लेषकहरुको भनाई छ।
यसै विषयमा वार्ता गर्न उता उत्तर कोरियाका १ जना सैनिक जर्नेल चीनको बाटो हुँदै बिहीबारै अमेरिका पुगेका छन्। सैनिक जर्नेल किम जोल यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने बताइएको छ। यसको पूर्व तयारीका लागि भन्दै सिंगापुरमा पनि केही उत्तर कोरियाली अधिकारीहरु रहेका छन्।
उत्तर कोरियाले आफ्ना सबै आणविक कार्यक्रमहरु परित्याग गर्नुपर्ने माग अमेरिकाको छ। तर उत्तर कोरिया भने ती कार्यक्रमहरुको अन्त्य गरेर आगामी दिनमा आफ्नो भविश्य के हुने भन्ने बारेमा चिन्तित रहेको बताइन्छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।