काठमाडौं- नेपाली कांग्रेसका महिला नेतृहरुले पार्टीको आगामी १४औँ महाधिवेशनमा पदाधिकारीसहित एक तिहाई पदाधिकारी महिलाहरुले पाउनुपर्ने बताएका छन्। यसका लागि उनीहरुले पार्टीभित्र लबिङ गर्ने भएका छन्।
कांग्रेस केन्द्रीय महिला विभाग र नेपाल महिला संघ केन्द्रीय कार्य समितिबीच भएको छलफलमा आरक्षणमार्फत् केही पद संख्याको सुनिश्चतता भएपनि नेतृत्व तहका लागि पर्याप्त नभएकाले खुल्ला तर्फबाटै उम्मेद्वार बन्नुपर्ने र पार्टीमा एक तिहाई पदाधिकारी सुनिश्चितताका लािग ध्यानाकर्षण गराउने जनाएको हो। वडास्तरदेखि संविधानको भावना अनुरुप सभापति वा उपसभापतिमध्ये एक एवं एक तिहाई पदाधिकारीको लागि लबिङ गर्ने बैठकले तय गरेको छ।
अन्य दलको तुलनामा कांग्रेसको प्राथमिकतामा महिला भएपनि खुल्ला प्रतिस्पर्धाका लागि केही समय अझै लाग्ने भएकाले आरक्षणको व्यवस्था थप गर्नुपर्ने विभाग प्रमुख ईश्वरी न्यौपानेले बताइन्।
विधानमा नै केन्द्र तथा प्रदेशमा सहमहामन्त्री पदका लागि आरक्षणको व्यवस्था उल्लेख गरिएपनि जिल्ला तथा अन्य संरचनामा कुनै आरक्षणको व्यवस्था नगरिएको भेलामा सहभागीले बताए।
भर्खरै जारी क्रियाशील सदस्यतामा सक्रिय महिलाले सदस्यता पाए/नपाएकोबारे र कूल संख्यामा ३३ प्रतिशत भए/नभएकोबारे जानकारी लिन विभाग र समितिले संयुक्त रुपमा सचिवको नेतृत्वमा अनुगमन गर्ने महिला संघकी सभापति उमा रेग्मीले बताइन्।
छलफलमा सहभागी सदस्यहरुले महाधिवेशन अगावै थप सिट संख्या सुनिश्चितताका लागि पार्टी केन्द्रीय समितिमा केन्द्रीय महिला नेताले दबाब दिनुपर्ने आवाज उठाएका छन्।
वडादेखी केन्द्रसम्मको सबै तहमा अनिवार्य ३३ प्रतिशत सहभागिता हुने गरि विभागले कार्य थाल्ने पनि जनाएको छ। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौं तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।