काठमाडौं- उद्योगी व्यवसायीहरुले सरकारले तत्काल नेपालीलाई कोभिड-१९ विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धराशायी हुने चेतावनी दिएका छन्।
नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा ब्यापार विभागको आयोजनामा ‘कोभिड-१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव’ बिषयक भर्चुअल अन्तरकृया कार्यक्रममा सहभागी व्यवसायीले सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन आग्रह गरेका हुन्।
कार्यक्रममा बोल्दै उद्योगपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रित नहुनुले गम्भिर आशांका उत्पन्न गरेको बताए।
संकटमा अक्सिजनसम्म नपाएर मानिस मर्ने अवस्था आउनु सरकारको कमजोरी रहेको उनले टिप्पणी गरे। ‘भारतले नोभेम्बरभित्र सम्पुर्ण नागरिकलाई भ्याक्सिन लगाउने घोषणा गरिसकेको छ, तर हामी कहिले हो टुंगो छैन,’ चौधरीले भने। विभिन्न ठाउँमा पत्र पठाएर सरकार रमाइरहेको तर भ्याक्सिन भने आउन नसकेको उनले जिकिर गरे।
‘बजेट समेत छुट्याइएको छ, तर विचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु भनेको दुर्भाग्यपूर्ण छ,’ उनले भने। दुई तिहाइको सरकार बन्यो भने मुलुकका सारा समस्या समाधान हुन्छ भन्ने भ्रम विगतमा सवैमा रहेको तर अहिले एकप्रकारको भ्रम समेत सरकारले तोडिदिएको उनले बताए।
‘७ प्रतिशत मात्रै विकास खर्च गर्ने ९३ प्रतिशत चालु खर्च हुने परिपाटी नबदलेसम्म मुलुकले विकास गर्दैन,’ उनले भने।अहिले सरकारले कतिवटा लाइसेन्स गयो भनेर विदेशी लगानीको हिसाव गरेर बसेको तर विशेष अर्थिक क्षेत्र (सेज) रित्तै हुनुले पनि उद्योग फस्टाउनमा सरकारले कति भूमिका खेलेको भन्ने प्रष्ट भएको चौधरीले बताए।
नेपाल उद्योग बाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले सरकारले खोप नदिएसम्म मुलुकको अर्थतन्त्रमा असहज अवस्था नआउने बताए।
कोभिड-१९ को यस्तो समस्यामा समेत निजी क्षेत्रले आपूर्ती व्यवस्थालाई सहज बनाइरहेको तर राज्यले गर्नुपर्ने काम भने नगरेको उनले आरोप लगाए। ‘धेरैभन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ, घरमा थुनेर समस्या समाधान हुँदैन,’ उनले भने।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लकडाउनकै बीचमा सरकारले असार २५ भित्र कर तिर्नका लागि सूचना निकालेर बस्नु गलत भएको बताए। ‘कोभिड १९ को कारण उद्योग र व्यवसाय क्षेत्रमा कति असर परेको छ भन्ने सरकारले कल्पनासमेत गर्न सक्दैन’, उनले भने। सरकारले पहिले भ्याक्सिन दिएर मात्र अन्य कुरातर्फ लाग्न मल्लले आग्रह गरे।
बैंकमा समेत तरलता आइसकेको अवस्थामा विकास खर्चमा बजेट केन्द्रित हुनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले बताए।
मंसिरदेखि जेठसम्म निर्माणको काम हुने तर सरकारले दुई वर्षदेखि सोही समयमा बन्द गर्दा काम हुन नसकेको उनले बताए। ‘पुँजीगत खर्च नहुनुमा सरकारले म्यादथपको काम नगर्दा समस्या आएको छ, काम गर्ने समयमा गर्न नपाएपछि म्याद थपको विकल्प हुँदैन,’ उनले भने।
नेपाल सिमेन्ट उत्पादक संघ अध्यक्ष ध्रुबराज थापाले अहिले ३० प्रतिशत उद्योग बन्द रहेको र ७० प्रतिशत चलेका उद्योग पनि ३० प्रतिशत क्षमतामा मात्रै चलेको बताए। ५ अर्ब भन्दा बढी ऋण लिएका उद्योगलाई ५ करोड पुर्नकर्जा दिएकोले लगानी अनुसार कर्जा प्रवाह गर्नुपर्नेमा थापाले जोड दिए।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले कोभिड-१९ ले नेपालको अर्थतन्त्रलाई धरासायी बनाएको बताए।
‘राजश्वमा योगदान गर्न उद्योगलाई चलायमान गराउने एक मात्र विकल्प भ्याक्सिन हो,’ उनले भने।
सरकारलाई दवाव दिन्छौं : कांग्रेस
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत अहिलेको सरकारबाट केही पनि आशा गर्ने ठाउँ नभएको बताउँदै यो सरकारको वहिर्गमन पहिलो सर्त भएको बताए।
यद्यपि, व्यवसायीले उठाएका माग पूरा गराउन सरकारलाई दवाव दिनेसमेत महतले बताए। ‘सरकार कुरा गर्छ, काम गर्दैन, बहुमत प्राप्त गरेको दिनदेखि जनताको सेवाभन्दा आफ्नो सेवामा लागेको छ,’ महतले भने। महामारीमा समेत सरकार भ्रष्टाचारमा लाग्नु पाप भएको समेत महतले बताए।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय उद्योग व्यापार विभागका सभापति चिनकाजी श्रेष्ठले कांग्रेसले यस्तो छलफल जारी राख्दै मुलुकको अर्थतन्त्र चलायमान गराउन केन्द्रित हुने बताए। ‘व्यवसायीको माग सम्बोधन गर्न दवाव दिन्छौं,’ श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।