फाइल तस्बिर काठमाडाैं- नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ।
निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको भाउ अनपेक्षितरुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए। हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उनले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मूल्यवृद्धि गरिएको प्रष्ट पारे।
आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उनको भनाइ छ। उनले भने, ‘तेल उत्पादनको कटौती आफ्नो ठाउँमा छ। लगानीकर्ताहरु कच्चा तेल र डलरमा केन्द्रित भएको अवस्था छ। हामीले लागत नै महँगोमा किनिसकेपछि कम्पनीले त नाफै नगरे पनि नोक्सान त सहनु भएन भन्ने हिसाबले, नोक्सानीलाई कम गर्दै जाने रणनीति अन्तर्गत नाफा कमाउने त कुनै उद्देश्य छैन। अरु नोक्सानीमा नजाओस् भन्ने ध्यानमा राख्दै कार्यविधिको अधिकारको पनि न्युनतमभन्दा न्यूनतम प्रयोग गरेर मूल्य बढाएको स्थिति हो।’
निगमले असार ९ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ।
त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ बिक्री मूल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ। यति वृद्धि गर्दा पनि निगम अझै निकै घाटामा रहने प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।