काठमाडौं- सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने यसअघिको व्यवस्था परिमार्जन गरेको छ। लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षासम्बन्धी व्यवस्था परिवर्तन गर्दै केही सहज बनाइएको हो। यसअघि शतप्रतिशत अंक ल्याएर पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य हुनेछ।
तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने अब ८० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ। यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अंकभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो।
साउन १ देखि लागू हुने 'सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ।
सोही अनुसार विभागले लिखित परीक्षामा सोधिने ५०० सय वटा प्रश्नको संग्रह सार्वजनिक गरेको छ। यही ५ सय वटा प्रश्नबाट अब हुने लिखित परीक्षमा २० वटा प्रश्न सोधिने छ। विभागले ‘क’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरेको हो। ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।
प्रयोगात्मक परीक्षणको हरेक चरणको अंकभार फरक–फरक निर्धारण गरिएको छ। परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा तीन अंक घट्नेछ।

हेलमेटमा लक नलगाई सवारी चलाएमा चार अंक र अस्वाभाविक गतिमा वा असम्यमित रूपमा सवारी चलाएमा तीन अंक घट्नेछ। घुमाउरो आठको अंकभार २० अंक छ। जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ। यति हुँदैमा परीक्षार्थी फेल हुने छैन।
घुमाउरो आठमा एकपटक भन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँमा टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको घोषणा गरिनेछ।
साँघुरो फलेकको अंकभार १० रहेको छ। यसमा १० अंक नै अनिवार्य ल्याउनुपर्नेछ। यहाँ खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाई पार गर्नुअगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल हुनेछ।
त्यस्तै, यूटर्नको अंकभार १० रहेको छ। टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ। यूटर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ। ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ। ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ।
स्पिड ब्रेकर वा हडल्सको अंकभार १५ रहेको छ। स्पिड ब्रेकरमा एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ।स्पिड ब्रेकरमा एकपटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ।
यसबाहेक र्याम्प अर्थात् उकालोको अंकभार २० रहेको छ। उकालोमा कुनै गल्ती भए फेल हुनेछ। उकालोमा तोकिएको रेखा नाघेर सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ।
रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघेर सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ। यसरी विभिन्न क्याटागोरीमा अंकभार निर्धारण गरिएको र त्यसमध्ये ७० अंक ल्याउनेले लाइसेन्स पाउनेछन्।
सरकारले स्वीकृत गरेको निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफ्नै सवारीसाधन लैजान पाउने छन्। हाल कायम रहेको व्यवस्थामा आफ्नो सवारीले ट्रायल दिन पाइदैन। आफ्नै सवारी पनि तोकिएको मापदण्ड अनुसार हुनुपर्ने व्यवस्था छ।
तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
यस्तो छ मोटरसाइकल तथा स्कुटरतर्फको प्रश्न संग्रह :
यस्तो छ कार तथा जीपतर्फको प्रश्न संग्रह :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।