काठमाडौं– महाधिवेशनको सरगर्मी बढेसँगे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै छन्। पौडेल पक्षको बैठक आज (शुक्रबार) बस्दै छ।
यसअघि बिहीबारका लागि तय भएको भेला विपक्षीदलका नेताहरुले सम्पादकहरुसँग गरेको अन्तरक्रिया कार्यक्रमका कारण सरेको थियो।
नेता पौडेलले बोलाएको भेला आज दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेलनिकट एक नेताले बताए।
सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सक्रियता बढाएपछि पौडेलले पनि आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्।
भदौमा तय कांग्रेसको १४औं महाधिवेशनका लागि कांग्रेसभित्र तयारी तीब्र छ। सभापति देउवाले फेरि सभापति उठ्ने बताएका छन् भने निधिले पनि सभापति उठ्ने बताएका छन्।
देउवाले यसअघि आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। निधिले पनि विभिन्न भेटघाट र छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।