काठमाडाैं– नेपाली कांग्रेसका क्रियाशील सदस्य ५० जिल्लाको टुंगिएको छ। कम विवादित जिल्लाकाे क्रियाशील सदस्यता छानविन समितिले टुंगाएको हो।बाँकी २७ जिल्लाका क्रियाशील सदस्यता विवाद छानविन समितिले टुंगाउन सकेको छैन।
त्यसमध्ये १५ जिल्लाबाट आएका उजुरी गम्भीर प्रकृतिकाे रहेको समितिले जनाएको छ। प्रदेश २ का आठ जिल्लासहित मोरङ, सुनसरी, काभ्रे, सोलुखुम्बुलगायत जिल्लाबाट उजुरी बढी परेका छन्। क्रियाशील सदस्य उपर ती जिल्लाबाट परेका उजुरी र गुनासा गम्भीर प्रकृतिका भएको समितिले जनाएको छ। सिन्धुपाल्चोक, बर्दिया र बाराबाट हालसम्म क्रियाशील सदस्यता दर्ता नै हुन सकेको छैन।
गम्भीर खालका विवाद देखिएका जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन मापदण्ड बनाउने विषयमा छानविन समितिमा सहमति हुन नसकेको बताइएको छ। सदस्यबीच मतैक्य हुन नसकेपछि मापदण्ड बनाउने जिम्मेवारी शीर्ष तहका नेतालाई दिने निर्णय समितिमा भएको छ। सदस्यको तर्क फरक फरक आएपछि मापदण्ड बनाउने जिम्मेवारी शीर्ष तहका नेतालाई सुम्पने बताइएको छ। ‘मापदण्ड समितिमा टुंगो लाग्न सकेन। मापदण्ड शीर्ष नेताहरुले जे बनाएर पठाउँछन्। त्यसै अनुसार हामीले अन्तिम सूचना निकाल्छौं,’ छानविन समितिका सदस्य कल्याण गुरुङले भने।
अनलाइन र प्रत्यक्ष कार्यालय आएर उजुरी दर्ता भएका थिए। इमेलबाट आएका उजुरी समितिले प्रिन्ट गरेर राखिएको छ। केन्द्रीय कार्यालयमा उपस्थित भएर दर्ता गरिएका उजुरी पनि हजारौं भएको छानविन समितिले जनाएको छ। ‘गम्भीर प्रकृतिका उजुरी पनि धेरै छन्। एक ट्रक त उजुरी नै होलान्,’ गुरुङले भने। मापदण्ड बनेको भए निर्धारित समय (असार २०) मा टुंगाउन समितिले सक्ने थियो। मापदण्ड बन्यो भने समितिलाई एक साता भन्दा बढी नलाग्ने बताइएको छ।
हालसम्म करिब आठ लाख क्रियाशील सदस्यता दर्ता भएका छन्। चार लाख २० हजार नयाँ क्रियाशील सदस्य थपिएका छन्। करिब ३ लाख ८० हजारले नवीकरण गरेका छन्। सबैभन्दा बढी क्रियाशील सदस्य चितवनबाट सूचीकृत भएका छन्। सूचीकृत हुन बाँकी जिल्लाबाट नाम आएको अवस्थामा ९ लाख बढी क्रियाशील सदस्य हुने आकलन गरिएको छ।
६० वर्षमुनिको उमेर समूहबाट ८० प्रतिशत र त्यस माथिको उमेर समूहका २० प्रतिशत क्रियाशील सदस्य सूचीकृत भएका छन्। ७० वर्ष माथिको उमेर समूहबाट ५ प्रतिशत क्रियाशील सदस्य बनेका छन्।
गौशालास्थित धर्मशालामा १० दिन अघिदेखि छानविन समिति सदस्यले विवाद टुंगाउन लागिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।