काठमाडौं– 'लिओनल मेसीको ऊर्जा खस्कँदै गएको छ। उनी २० वर्षको हुँदा जति जादू देखाउँथे, त्यो कम हुँदै गएको छ।' - रेमण्ड होमेनेच
'कुनै समय आफ्नो टिमले ४–० गोलको अग्रता लिँदा पनि क्रिस्टियानो रोनाल्डोको भोक उस्तै हुन्थ्यो। तर, त्यस्तो अवस्था अहिले छैन।' - ब्रेन्ड स्चुस्टर
माथिका दुई फुटबल विश्लेषकको भनाइबाट अर्जेन्टिनाका फरवार्ड मेसी र पोर्चुगिज फरवार्ड रोनाल्डोको ढल्कँदो उमेरले प्रदर्शनलाई असर गरिरहेको अवस्था झल्काउँछ। तर पनि दुवै खेलाडी आजको समयका उत्कृष्ट फुटबलर हुन्। पछिल्लो १० वर्षदेखि विश्व फुटबल मेसी र रोनाल्डोबीच नै घुमिरहेको छ।
जून १४ (जेठ ३१) देखि रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा सबैको चासो मेसी र रोनाल्डोको प्रदर्शनमा केन्द्रित हुनेछ। समकालीन फुटबलमा उत्कृष्ट भए पनि दुवैले विश्वकपको ट्रफी उचाल्ने अवसर अहिलेसम्म पाएका छैनन्। धेरैको अनुमान छ, दुवैका लागि रसिया विश्वकप एउटा राम्रो अवसर हुन सक्नेछ।
स्पेनिस ला लिगाको 'गोल स्कोरिङ चार्ट' मा पनि मेसी र रोनाल्डोबीच नै मुख्य प्रतिस्पर्धा छ। रोनाल्डो युरोपियन च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता हुन्। उनलाई मेसीले पछ्याइरहेका छन्।
उमेर ढल्कँदै गएको अवस्थामा अर्को विश्वकपसम्म दुवैले खेल्छन् भनेर यसै भन्न सकिन्न। ३१ वर्षीय मेसी त संन्यास फिर्ता गरेर खेलमा फर्किएका हुन्। रोनाल्डोको उमेर झन् ३३ कटिसकेको छ।
दुवैले चौथो पटक विश्वकप खेल्न लागेका हुन्। चौथो प्रयासमा मेसी र रोनाल्डो सफल होलान् त, विश्वका फुटबलप्रेमीहरुको ध्यान रसिया विश्वकपतिर एकोहोरिएको छ।
यो सिजन कसको प्रदर्शन कस्तो?
रोनाल्डो (पोर्चुगल र रियल म्याड्रिड)
खेल– ५७
गोल– ५७
उपलब्धि– फिफा क्लब विश्वकप २०१७, स्पेनिस सुपर कप, युरोपियन च्याम्पियन्स लिग।
लिओनल मेसी (बार्सिलोना र अर्जेन्टिना)
खेल– ६२
गोल– ५२
उपलब्धि– ला लिगा, कोपा डेल रे।
मेसी र रोनाल्डोको भूमिका
रोनाल्डोले गत सिजनदेखि आफ्नो भूमिका फराकिलो पारिरहेका छन्। यसअघि डि-बक्समा बसेर फिनिसिङको भूमिका निर्वाह गरेका रोनाल्डो अब भने देशका लागि प्लेमेकर बन्न सक्छन्। रोनाल्डोको राम्रो पक्ष उत्कृष्ट फिनिसिङ गर्न सक्नु हो। युरोपियन च्याम्पियन पोर्चुगलका लागि रोनाल्डोमा एकल प्रयासमा गोल गर्ने क्षमता पनि छ।
मेसीबिना पनि अर्जेन्टिनाको टिम उत्कृष्ट रहेको विश्लेषण गर्न सकिन्छ। तर, उनी टिममा हुनु अर्जेन्टिनाका लागि थप बलियो पक्ष हो। सर्जियो अग्युरो, गोन्जालो हिग्युइन, इन्जेल डि मारिया, पाब्लो डिबाला जस्ता प्रतिभाशाली खेलाडी अग्रपंक्तिमा हुँदा मेसीको भूमिका अझ फराकिलो बन्न सक्छ। उत्कृष्ट खेलाडीको तालमेल मिलाउन सही रणनीति बनाउनु नै अर्जेन्टिनाको मुख्य चुनौती हो।
अघिल्ला ३ विश्वकप : मेसी र रोनाल्डोको टिम कुन चरणमा पराजित?
पोर्चुगल
२००६– सेमिफाइनलमा फ्रान्ससँग १–० गोलले पराजित
२०१०– अन्तिम १६ मा स्पेनसँग १–० ले पराजित
२०१४– समूह चरणबाटै बाहिर
अर्जेन्टिना
२००६– क्वार्टरफाइनलमा जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित
२०१०– क्वार्टरफाइनलमा जर्मनीसँग ४–० गोलले पराजित
२०१४– फाइनलमा जर्मनीसँग १–० गोलले पराजित
रसिया विश्वकपमा समूह चरणमा पोर्चुगल र अर्जेन्टिनाको टिमको भिडन्त
रसिया विश्वकपमा पोर्चुगल समूह 'बी' मा छ। यो समूहमा पोर्चुगलसँगै सन् २०१० को विश्वविजेता स्पेन, मोरक्को र इरान छन्। पोर्चुगलले आफ्नो पहिलो खेल १५ जूनमा बलियो प्रतिद्वन्द्वी स्पेनसँग खेल्नेछ।
अर्जेन्टिना समूह 'डी' मा छ। यो समूहमा अर्जेन्टिनाले आइसल्यान्ड, क्रोएसिया र नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले पहिलो खेल १६ जूनमा आइसल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
इतिहास के भन्छ?
सन् २०२२ मा कतारमा आयोजना विश्वकपमा मेसी ३५ वर्ष र रोनाल्डो ३७ वर्षका हुनेछन्। तर, उनीहरुको नाम टिममा पर्ला-नपर्ला, अहिले नै यकिन गर्न भने सकिन्न।
सन् १९३० यता ४ सय २२ खेलाडीले विश्वकपको ट्रफी उचाल्ने अवसर पाएका छन्। ती ४ सय २२ खेलाडीमा ७ खेलाडी मात्र ३५ वर्षभन्दा माथिका छन्। ७ मध्ये पनि २ जनाले मात्र गोल गर्न सकेका छन्। विश्वकपको इतिहास हेर्दा ३५ वर्ष काटेका खेलाडी त्यति प्रभावशाली देखिएका छैनन्। तर, मेसी र रोनाल्डोले कतार विश्वकप खेलेर अर्को इतिहास नबनाउलान् भन्न भने सकिन्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।