काठमाडौं– १४औं महाधिवेशनमा फेरि पार्टी सभापति लड्ने तयारीमा रहेका नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवालाई केन्द्रीय सदस्यहरुले उपसभापति विमलेन्द्र निधिसँग थप छलफल गर्न सुझाव दिएका छन्।
१४औं महाधिवेशनमा निधिले पनि सभापतिको उम्मेद्वारी दिने बताएपछि केन्द्रीय सदस्यहरुले उनीसँग सल्लाह गर्न देउवालाई सुझाव दिएका हुन्।
देउवाले बागमती र गण्डकी प्रदेशका आफू पक्षीय केन्द्रीय नेताहरुसँग छलफल गर्ने क्रममा निधिको विषय उठेको थियो। ‘विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने कुरामा पनि छलफल भएको थियो। उहाँ (निधि)लाई कसरी म्यानेज गर्दै लिएर जाने भनेर सभापतिले कुरा फेरि गर्नुस् भनेका छौं,’ बैठकमा सहभागी नेता मोहन बस्नेतले भने।
देउवा निवास बुढानीलकण्ठमा भएको छलफलले उपसभापति निधिसँग संस्थापन पक्षका नेताहरुले पनि कुरा गर्ने निर्णय गरेको छ। ‘विभाजित भएर हिँड्नु हुँदैन। एउटै समूहमा रहेका नेताहरु मिलेरै जानुपर्छ,’ बस्नेतले भने।
सभापति तथा उनी पक्षीय केन्द्रीय नेताहरुको बैठकले निधिलाई सहमतिमा ल्याउन नसके पनि १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारीबाट देउवा पछि नहट्ने निष्कर्ष निकालेको छ।
निधि उठेपनि सभापतिमा देउवालाई समर्थन गर्ने निष्कर्ष निकालिएको बस्नेतको भनाइ छ।
शनिबार देउवाले निधिलाई बोलाएर सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए। निधिले आफ्नो पूर्व अडान कायम राख्दै आफू पनि सभापतिको प्रत्यासी रहेको र त्यसबाट पछि नहट्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।