काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई बोलाएको बैठकमा कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य शिव हुमागाईं पनि सहभागी भएका छन्।
१४औं महाधिवेशनमा सभापतिमा दोहोरिन खोजेका देउवाले सहयोगको आशासहित आफूपक्षीय नेताहरूलाई छलफलमा बोलाएका थिए। देउवानिवास बूढानीलकण्ठमा आइतबार बिहान भएको छलफलमा भने कांग्रेसमा तेस्रो धारको नेतृत्व गरिरहेका सिटौला पक्षका हुमागाईं पनि सहभागी भए।
देउवालाई भावी सभापतिमा देख्न नचाहने तेस्रो समूहका नेताको सहभागितालाई संशयका साथ हेरिएको छ।
बागमती प्रदेशका केन्द्रीय नेतालाई बोलाएको बैठकमा उनी पनि पुगेका थिए। 'तपाईं त सिटौला पक्षको नेता देउवालाई सघाउने बैठकमा किन पुगेको?' भन्ने नेपाल लाइभको प्रश्नमा हुमागाईंले भने, ‘अरु समूहमा चिनिएका नेताहरू पनि हुनुहुन्थ्यो। कतिपय त सभापति निकटका पनि आउन सक्नुभएन।’
अरु समूहका कुन कुन नेता देउवानिवास पुगेको भन्नेबारे चाहिँ उनले खुलाउन चाहेनन्। हुमागाईंले २०/२२ जना रहेको बताए पनि देउवानिकट नेता मोहन बस्नेतले भने १४ जना सहभागी भएको बताए।
हुमागाईंलाई कांग्रेस सभापति देउवाले नेता सिटौलाको पक्षबाट केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।