काठमाडौं– असार २ गतेका लागि बोलाउने तयारी गरिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। माधवकुमार नेपाल पक्षलाई पनि सहभागी गराउने गरि बैठक बोलाउने अध्यक्ष केपी शर्मा ओलीको तयारी थियो। तर, पूर्वसन्ध्यामा बैठक स्थगित गरिएको हो।
सर्वोच्च अदालतले एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काइदिएकाले त्यतिबेला रहेका कमिटी ब्युँतिएर बैठक बस्नुपर्ने नेपाल पक्षको माग छ। तर, ओलीले फागुन २८ यता कमिटीहरूमा आफू अनुकूल हेरफेर गरिसकेकाले नेपाल पक्षको मागको सुनुवाइ गरेका छैनन्। उनले यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरूलाई समेत समेटेर जेठ ३ पूर्वको अवस्थामा फर्काउने बताएका थिए।
ओली पक्षका नेताहरूले दुवै पक्षको जित हुनेगरी बैठक बोलाइने 'मोडालिटी' खोजिरहेका छन्। सो पक्षले मंगलबार बालुवाटारमा यस विषयमा गृहकार्य गरेका थिए। उनीहरूले नेपाल पक्षका मध्यमार्गी नेताहरूसँग पनि समन्वय गरिरहेका छन्। मंगलबार दिउसो पनि ओली र नेपाल पक्षका केही नेताबीच अनौपचारिक छलफल भएको थियो। उनीहरूकै सुझाव अनुसार बुधबार बस्ने भनिएको बैठक केही दिन पर सारिएको बताइएको छ।
सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामाथि असार ९ मा सुनुवाई सुरु हुँदैछ। त्यसपछि निरन्तर सुनुवाई गरेर यसको फैसला गर्ने प्रक्रिया सर्वोच्चले निर्धारण गरिसकेको छ। त्यसअघि नै एमालेलाई एकताबद्ध देखाएर मुद्दालाई कमजोर देखाउने तयारीमा ओली लागेका छन्। स्थायी कमिटीको आगामी बैठक पनि त्यसअघि नै डाकिने र मिति तथा मोडालिटी सकेसम्म सहमतिमा तय गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।