काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेनमा संलग्नहरुलाई पक्राउ गर्न प्रयोग गर्दै आएको स्टिङ अप्रेसन सम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। वैशाख ८ गते गरिएको फैसलाको हालै सार्वजनिक ३९ पृष्ठको पूर्णपाठमा अदालतले स्टिङ अप्रेसनका धेरै विषयमा व्याख्या गरेको छ।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा फैसलामा संलग्न थिए। संवैधानिक इजलासले अख्यितारले गर्दै आएको स्टिङ अप्रेसन (रंगेहात पक्राउ) गर्ने कार्य संविधान र कानुनसँग बाझिएको भन्दै बदर गर्ने फैसला सुनाएको थियो।
अख्तियारले आयोग सम्बन्धी नियमावली २०५९ को नियम ३० मा रहेको स्टिङ अप्रेसन सञ्चालन गर्दै आएको र यसले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने दाबी गरेपनि सर्वाेच्चले त्यसलाई अस्वीकार गरेको छ।
भ्रष्टाचार नियन्त्रण आवश्यक तर, वैधानिक बाटोबाट
पूर्णपाठमा भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक भएको भनिएको छ। राज्यलाई नै जर्जर बनाउने गम्भीर अपराधिक कार्य भएकाले भ्रष्टाचार नियन्त्रणका लागि राज्यले हरसम्भव वैध (उचित) उपायहरुको प्रयोग गर्नुपर्ने भनिएको छ। यसमा अख्तियारको विशेष क्रियाशिलता अपेक्षाकृत पनि भएको फैसलामा भनिएको छ।
‘तर, भ्रष्टाचार निवारण गर्ने आडमा स्वेच्छाचारिता अपनाउने, जालझेल वा कपटपूर्ण रुपमा निर्दोषलाई फसाउने वा सताउने जस्ता कार्य गर्न मिल्दैन’, पूर्णपाठमा भनिएको छ, ‘आयोग आफैंले पैसा दिने अपराध गराउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न संवेदनशील देखियो।’ स्वार्थ जोडिएको व्यक्तिको उजुरीका आधारमा षडयन्त्रमूलक तवरबाट फसाउन नियम ३० को प्रयोग हुने सम्भावनालाई अदालतले अन्देखा गर्न मनासिव नभएको पूर्णपाठमा भनिएको छ।
‘प्रमाण संकलनका अनुसन्धानकर्ताले अपराधको योजना बनाउने र निर्दोष मानिसलाई उक्साएर अपराध गर्न लगाउने’ कार्यलाई उचित मान्न नसकिने पूर्णपाठमा उल्लेख छ।
‘छद्म वा गुप्त रुपमा गरिने कारबाहीको उद्देश्य आपराधिक गिरोहलाई छिन्नभिन्न पार्ने र गम्भीर तथा संगठित रुपमा गरिने अपराधका कसूरदारलाई कानुनको दायरमा ल्याउने भन्ने हुन्छ’, पूर्णपाठमा भनिएको छ, ‘राष्ट्रसेवक वा सार्वजनिक जवाफदेहिताको पदमा रहेका व्यक्तिउपर अपारदर्शी र शंकास्पद जाल प्रपञ्ज रचेर अनुसन्धान गर्नु सुशासनको दृष्टिले पनि सुहाउने कुरा देखिँदैन।’
राज्य कोषको रकम घुसमा उपयोग गर्न मिल्दैन
सर्वोच्चले भ्रष्टाचार प्रयोजनका लागि राज्य कोषको रकमलाई प्रयोग गर्न कुनै पनि कानुनले अनुमति नदिने व्याख्या गरेको छ। ‘ऐनद्वारा अख्तियारी प्रदान नगरिएको अवस्थामा नियममा प्रावधान समावेश गरेर रिसवत/घुस प्रयोजनका लागि राज्य कोषको रकम प्रदान गर्नु मनासिव हुँदैन’, फैसलामा भनिएको छ, ‘विवादित नियमावलीमा रिसवतको रकम जफत हुने ऐनमा रहेको प्रावधान प्रतिकूल व्यवस्था गरिएको समेत देखिन्छ।’
योजनाबद्ध रुपमा कर्मचारीलाई राज्यले नै पक्राउ गर्नुलाई माझीले माछा मार्न फालेको जालसँग तुलना गर्दै व्याख्या गरिएको छ। यसले निर्दोष व्यक्तिलाई उक्साएर अपराध गर्न लगाएको भन्न सकिने अवस्था देखिएको भनिएको छ।
‘स्रोत (साधन) र अधिकारप्राप्त राज्यको संवैधानिक निकाय आफैंले घुस दिएर माझीले माछा मार्न जाल बिछ्याए जसरी कसैलाई पक्राउ गर्नु सभ्य समाज अनुकूल सुहाउने कुरा होइन’ आदेशमा भनिएको छ, ‘राज्यका निकायले आफ्ना नागरिकलाई फसाउने प्रपञ्चपूर्ण योजना बनाएर कार्यान्वयन गर्नु शोभनीय कुरा हुँदैन।’
कानुनसँग बाझिने गरी नियम बनाएर कुनै पनि कार्यलाई कसूरका रुपमा परिभाषित गरी कारबाही गर्नु कानुन बनाउने विधायकी अधिकार हस्तक्षेप हुने पूर्णपाठमा उल्लेख छ। नियम ३० को प्रावधानले प्रत्यायोजित विधानको मूल्य मान्यतालाई समेत उल्लंघन गरेको आदेशमा भनिएको छ।
के हुन्छन् विचाराधीन ५ सय मुद्दा?
स्टिङ अप्रेसन खारेजी भएसँगै अख्तियारले दर्ता गरेका करिब ५ सय मुद्दा के हुने अन्योल सिर्जना भएको थियो। यो प्रावधान खारेज भएसँगै त्यसका आधारमा विशेष अदालत र सर्वोच्च अदालतमा विचाराधीन ५ सयभन्दा बढी मुद्दाका बारेमा के गर्ने भन्ने पनि फैसलाको पूर्णपाठमा भनिएको छ।
रंगेहात पक्राउसँग सम्बन्धित २ सय हारहारी मुद्दा सर्वोच्चमा पुनरावेदनका क्रममा विचाराधीन छन् भने विशेष अदालतमा अख्तियारले दायर गरेका ३ सय २० मुद्दा छन्। यी मुद्दामा ६ सय भन्दा बढी सरकारी कर्मचारी प्रतिवादी रहेका छन्। फैसलाको पूर्णपाठले स्टिङ अप्रेसनसँग सम्बन्धित मुद्दामा अन्य तरिकाबाट पनि संकलन गरिएका प्रमाण हुने भएकाले सबैलाई सामान्य न्यायिक प्रक्रियाबाटै किनारा लगाउन भनेको छ।
सर्वाेच्चको यो फैसलापछि यी मुद्दाको सुनुवाइ अब सहज रुपमा अघि बढ्ने भएको छ। अख्तियारले अनुसन्धानका क्रममा स्टिङ अप्रेसनलाई मात्र आधार लिएर अदालतमा मुद्दा दायर भएको अवस्था भने यी मुद्दामा सफाइ पाउने देखिएको छ। भ्रष्टाचारका लागि अन्य प्रमाण अनुसन्धानका क्रममा भेटिएको र अख्तियारले अदालतमा पेश गरेको पाइएमा भने यी मुद्दामा दोषी ठहर हुने सम्भावना देखिएको छ।
‘न्यायिक प्रकृयामा रहेका विवादको निरुपण गर्ने नियमित विधि, पद्धति निर्धारित छन्। नियम ३० लाई अमान्य र बदर भनी घोषित गरिएको सम्मको कारणबाट अदालतमा विचाराधीन मुद्दा नै खारेज हुनु पर्दछ भन्न मिल्दैन’, पूर्णपाठमा भनिएको छ, ‘सबै काम कारबाही अमान्य र बदर हुन्छन् भन्ने सम्झन मिल्दैन। मुद्दामा संकलित अन्य प्रमाणको मूल्यांकनका आधारमा आरोप दाबी ठहर हुने वा नहुने कुराको न्यायिक निरुपण गर्नु नै पर्ने हुन्छ।’
स्टिङ अप्रेसनको प्रमाणले मात्र भ्रष्टाचार पुष्टि हुँदैन
फैसलाको पूर्णपाठमा यसरी सञ्चालन भएका स्टिङ अप्रेसनमार्फत् संकलन भएका प्रमाणले मात्र भ्रष्टाचार ठहर गर्ने प्रमाण प्रयाप्त नहुने व्याख्या गरिएको छ।
आयोगको नियम ३० का आधार स्टिङ अप्रेसन गरेर संकलन गरिएका प्रमाण मात्रै मुद्दा छिनोफानो गर्दा ग्रहण गर्न उपयुक्त नहुने पूर्णपाठमा भनिएको छ।
‘नियम ३० लाई प्रमाण संकलन गर्ने विभिन्न माध्यम वा तरिकामध्ये एउटा उपायको रुपमासम्म अपनाइएको देखियो’, पूर्णपाठमा भनिएको छ ‘मुद्दामा उक्त नियम ३० बमोजिम बाहेक अन्य तवरबाट संकलन गरिएका प्रमाण पनि रहेका हुन्छन्। सो नियम ३० अमान्य र बदर हुँदैमा अदालतमा विचाराधीन मुद्दा स्वतः समाप्त हुने वा खारेज हुने वा भए, गरिएका सम्पूर्ण काम कारबाहीहरु प्रारम्भदेखि नै अमान्य र बदर हुने होइनन्।’
पछिल्ला वर्षमा आयोगले तीव्र बनाएको स्टिङ अप्रेसनप्रति निकै आलोचना हुने गरेको थियो। फैसलाको पूर्णपाठमा यी कुरालाई समेत समेटिएको छ। मालपोत कार्यालय कलंकीका एक कर्मचारीले एक हजार रुपैयाँसहित स्टिङ अप्रेसनमा परेपछि आत्महत्या गरेका थिए। पछि विशेषले निर्दोष ठहर गरेको थियो। त्यस्तै, विशेषले पछिल्लो समय केही मुद्दाहरुमा प्रमाण नपुगेको भन्दै सफाइ दिन थालेपछि अख्तियारको स्टिङ अप्रेसनमाथि धेरै प्रश्न उठेको थियो।
‘सार्वजनिक जिम्मेवारीमा रहेका कुनै निर्दोष व्यक्तिलाई बनावटी वा कृत्रिम प्रमाण खडा गरेर फसाइयो भने यसबाट सार्वजनिक पदाधिकारीहरुमा अवाञ्छित त्रास पैदा भई सेवा प्रवाह तथा सुशासन कायम गर्ने कुरामा समेत गम्भीर असर पर्न जान्छ’ पूर्णपाठमा भनिएको छ ‘यसप्रकारको अवस्था अपेक्षित र स्वीकार्य हुन सक्तैन।’
स्टिङ अप्रेसन संविधान र कानुनसँग बाझिएका चार आधार
सर्वोच्चले रंगेहात पक्राउ गर्ने व्यवस्था संविधान र कानुनसँग बाझिएको भनेको छ। संवैधानिक इजलासले तयार पारेको पूर्णपाठमा यसका चारवटा आधार देखाएको छ।
पहिलो :
संवैधानिक इजलासले स्टिङ अप्रेसन फौजदारी न्यायका मान्य सिद्धान्त अनुकूल नभएको ठहर गरेको छ। फौजदारी न्यायका सिद्धान्तमा पालना हुनुपर्ने अनुसन्धानको शैलीदेखि विभिन्न विषयहरु यसमा नहुने गरेकाले निर्दोष व्यक्ति समेत फस्न सक्ने आकलन गरेको छ।
दोस्रो :
संवैधानिक इजलासले स्टिङ अप्रेसन सञ्चालन गर्दा कानुनको उचित प्रक्रिया तथा प्रमाण संकलन सम्बन्धी न्यायिक मान्यताका हिसाबले मनासिव र तार्किक नभएको भनेको छ। भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण सम्बन्धी ऐन भएपनि त्यसको व्यवस्थालाई नै चुनौती दिने गरि नियमावलीमा व्यवस्था गरेर स्टिङ अप्रेसन गरिएको फैसलाको पूर्णपाठमा उल्लेख छ।
तेस्रो :
स्टिङ अप्रेसन सम्बन्धी प्रावधान प्रत्यायोजित विधायन सम्बन्धी अवधारणा विपरीत रहेको पूर्णपाठमा उल्लेख छ। त्यस्तै विभिन्न समयमा अदालतबाट भएका व्याख्या तथा प्रतिपादित सिद्धान्तको समेत स्टिङ अप्रेसन विपरीत रहेको फैसलामा उल्लेख छ।
चौथो :
स्टिङ अप्रेसन अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको भएको व्याख्या गरिएको छ। यसले अनुसन्धान अधिकारीले चाहेमा वा उसको मनसायले जो कसैलाई पनि यसको जालमा माझीले झैं फसाउन सक्ने भनिएको छ। यसरी गरिने अनुसन्धानले कर्मचारीहरुले निडर भएर कार्यसम्पादन गर्न नसक्ने समेत भनिएको छ।
यस्तो छ फैसलाको पूर्णपाठ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।