काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले थप ६५ स्थानका सदस्यता सूचीकृत गरेको छ। समितिका सचिव केशव रिजालका अनुसार थप ३३ जिल्लाका ६५ स्थानका सदस्यता सूचीकृत गरेको हो। यसअघि १०१ स्थानको क्रियाशील सदस्यता सार्वजनिक गरिसकिएको छ।
पछिल्लो विवरण कांग्रेसको आधिकारित वेबसाइटमा राखिएको कांग्रेसले जनाएको छ।
प्रदेश १ को मोरङ, सोलुखुम्बु, सुनसरी, धनकुटा, प्रदेश २ को सिरहा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, मकवानपुर, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ र रामेछापका विभिन्न निर्वाचन क्षेत्रबाट सदस्यता सूचीकृत गरिएको छ।
यस्तै, गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, मुस्ताङ, नवलपुर, लुम्बिनी प्रदेशका बाँके, रुपन्देही, दाङ, कर्णाली प्रदेशका जुम्ला, सुर्खेत, डोल्पा र सल्यानबाट प्राप्त सदस्यता सूचीकरण गरिएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली, बझाङ र बैतडीका विभिन्न क्षेत्रका सदस्यता सूचीकृत गरिएको छ।
आज सार्वजनिक नामावलीउपर कुनै उजुरी, गुनासा वा सुझाव भएमासमितिको नाममा कांग्रेसको इमेल ठेगानामा असार ६ गतेभित्र स–प्रमाण लिखित उजुरी, गुनासो पठाउन सकिने बताइएको छ। असार ६ गतेपछि प्राप्त भएका उजुरीउपर कुनै सुनुवाइ नहुने सचिव रिजालले बताएका छन्।
सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटी भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरणतर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याइदिनका लागि वा नाम समावेश गरिदिनका लागि असार ६ गतेभित्र नै लेखि पठाउनुपर्ने बताइएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।