काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर बुझाएका गण्डकी प्रदेशका तीन दलका सांसदलाई एउटै होटलमा राखिएको छ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसद एउटै होटलमा बसेका छन्। उनीहरू सांग्रिला होटलमा बसेका छन्। पोखराको महँगो होटल मध्येमा सांग्रिला पनि पर्दछ।
प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर बुझाएपछि तीन दलका सांसदलाई शुक्रबार राति सिधै होटल पुर्याइएको थियो। जनमोर्चाकी सांसद पियारी थापाले भनिन्, 'हामीहरूलाई पनि होटल जाऔं भन्नुभएको थियो। हामी गएनौं। अब जानुपर्ला।'
प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्नु अघि सांसदहरुको चलखेल हुने सक्ने डरले होटलमा राखेको बताइएको छ। यस अघि पनि अविश्वासको प्रस्ताव दर्ता भएपछि विपक्षी गठबन्धनका सांसद एउटै होटलमा बसेका थिए।
विपक्षी गठबन्धनका सांसदसँग प्रदेश प्रमुख सीता पौडेलले शनिबार तीन बजे पछि बोलाउने शुक्रबार बताएकी थिइन्। चार दल र एक स्वतन्त्र गरी पोखरेलको पक्षमा ३१ सांसदले हस्ताक्षर बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।