काठमाडौं- गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय आज दिउँसो ३ बजे सकिँदै छ। प्रदेश प्रमुख सिता पौडेलले शुक्रबार २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेकी थिइन्।
बिहीबार विश्वासको मत लिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत पुर्याउन नसकेपछि सरकार गिरेको थियो। उनी संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संविधानको १६८ (५) अनुसार दाबी गर्न प्रदेश प्रमुखले आह्वान गरेकी हुन्। उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
विपक्षी गठबन्धनले नेपाली कांग्रेस प्रदेश सभा सदस्य कृष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्रीका लागि अगाडि सारेको छ। विपक्षी दलहरुले बहुमत सांसदको हस्ताक्षरसहित शुक्रबारनै प्रदेश प्रमुखसमक्ष सरकारको दाबी प्रस्तुत गरेका छन्। प्रदेश सभाका ३१ सांसदले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पोखरेललाई प्रस्ताव गरेका छन्।
कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका दुई/दुई र स्वन्तन्त्र एक गरी ३१ सांसदले पोखरेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्। प्रस्ताव बुझ्दै प्रदेश प्रमुख सीता पौडेलले भोलि ३ बजे जानकारी दिने बताएको एक सांसदले बताए।
जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्तमा परेकाले ३० जना भए बहुमत पुग्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।