काठमाडौं- गण्डकी प्रदेशका विपक्षी दलहरुले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष सरकारको दाबी प्रस्तुत गरेका छन्।
प्रदेश सभाका ३१ सांसदले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गरेका छन्। कांग्रेस सांसद विष्णु लामिछानेले ३१ जना सांसद हस्ताक्षर सनाखत गरेर प्रदेश प्रमुखकको कार्यालयबाट फर्किएको जानकारी दिएका छन्।
कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका दुई/दुई र स्वन्तन्त्र एक गरी ३१ सांसदले पोखरेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। सांसद लामिछानेका अनुसार प्रदेश प्रमुख सीता पौडेलले भोलि ३ बजे जानकारी दिने बताएकी छन्।
जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्तमा परेकाले ३० जना भए बहुमत पुग्दछ।
प्रदेश प्रमुख पौडेलले आज २४ घण्टाको अवधि दिएर संविधानको धारा १६८ (५) को सरकार बनाउन आह्वान गरेकी थिइन्। प्रदेश प्रमुखले आह्वान गरेको केही घण्टामै विपक्षी गठबन्धन नयाँ सरकारको दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।