काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार नै मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ।
बिहीबार विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री गुरुङले मध्यावधि घोषणा गर्ने उनीनिकट एक सांसदले बताएका छन्। संविधानको १६८ (३) अनुसार ठूलो दलको आधारमा पुनः मुख्यमन्त्री बनेका गुरुङले संघभन्दा पनि एक कदम अघि बढेर मध्यावधि निर्वाचन घोषणा गर्ने तयारी गरेका हुन्। संविधानको १६८ (५) मा ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।’ भनी उल्लेख छ।
ठूलो दलको आधारमा बिहीबार विश्वासको मत लिन लागेका गुरुङले १६८ (४) को कार्यान्वयन गर्न लागेका छन्। तर, १६८ (५) लाई पालन नगरी निर्वाचन घोषणा गर्ने दिशामा मुख्यमन्त्री जान लागेका हुन्। ‘नयाँ सरकार बनाउने अवधि भोलि तोकिने सम्भावना देखिँदैन। संघ र प्रदेशको वैधानिक व्यवस्था फरक छ,’ गुरुङपक्षीय एक सांसदले भने, ‘हाम्रो पनि सरकार बन्न सक्दैन। उनीहरूले पनि बनाउने आधार छैन। किन समय दिइराख्नपर्यो र?’
१६८ (५) को सरकार बन्नै सक्दैन भने सरकार प्रमुखले समयावधि छुट्याउन आवश्यक नरहेको गुरुङपक्षको तर्क छ। वैशाख २९ मा बहुमत पुर्याउन नसकेका विपक्षी दलले फेरि समय उपलब्ध गराए पनि दाबी पेस गर्न नसक्ने एमालेपक्षको बुझाइ छ। हालको सत्ता समीकरणको स्थिति र वैशाख २९ को आधारमा परिवर्तन नभएको जिकिर गर्दै मध्यावधि निर्वाचन घोषणा गर्ने सरकारको तयारी रहेको बताइएको छ। १६८ (२) अनुसारको कुनै सांसदले बहुमत पुर्याउनै नसक्ने गुरुङपक्षको दाबी छ। नयाँ सरकारको लागि समय उपलब्ध गराइएको समयमा कुनै सांसदले विपक्षी गठबन्धनको पक्षमा जानसक्ने डर गुरुङपक्षमा भएकाले सीधै मध्यावधितिर जान चाहेका छन्।
संविधानको धारा १६८ (७) मा १६८ (५) अनुसार बनेको मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा संसद् भंग गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने व्यवस्था छ। प्रदेश सरकार बनाउने संसद्को अन्तिम विकल्प १६८ (५) हो। बिहीबार संसद् भंग गरियो भने १६८ (३) अनुसार बनेको मुख्यमन्त्री सिफारिसअनुसार हुनेछ। विपक्षीले आफ्ना एक सांसदलाई बहुमत रहेको दाबीसहित प्रदेश प्रमुखकहाँ पुग्ने बाटो नै बन्द हुनेछ।
मंसिरमा मध्यावधि निर्वाचनको मिति तोक्न सकिने गुरुङनिकट सांसदको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।