काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति सार्वजनिक गरेको वक्तव्यमा नेकपा एकता भंग हुनुको दोष आफूलाई लगाएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवाद गरेका छन्।
सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ। त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।‘
ओलीले आफ्नो वक्तव्यमा २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भंग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गरे पनि यो यथार्थ नभएको बताएका थिए।
‘सर्वोच्च अदालतले त नेपाल कम्युनिस्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको हो। एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो। र यसका लागि समय पनि दिएको हो। पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैं पहल पनि लिएको हुँ। तर पुष्पकमल दहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन,’ ओलीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।