काठमाडाैं- भारतको सबैभन्दा ठूलो हवाई सेवा प्रदायक इन्डिगो एयरलाइन्स सञ्चालन गर्दै आएको कम्पनी इन्टरग्लोबल एविएशनले लगातार ५औं क्वार्टरमा घाटा बेहोरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीले जनवरी-मार्च क्वार्टरमा ११ अर्ब ४७ करोड भारुको घाटा बेहोरेको छ। एक वर्ष अघि कम्पनीको घाटा ८ अर्ब ७१ करोड थियो।
कोरोनाका कारण कम्पनी लगातार घाटामा गइरहेकाे कम्पनीका मुख्य कार्यकारी अधिकारी रणोजोय दत्ताले दाबी गरेका छन्।
‘यो वर्ष कोरोना महामारीको कारण धेरै गाह्रो भएको छ, हाम्रो आम्दानी घटेको छ। डिसेम्बर र जनवरीबीचमा केही हदसम्म सुधार भएको थियो। तर, कोरोनाको दोस्रो लहरले असर गर्यो,’ उनले भने।
यो अवधि इन्डिगो सेयरधारकहरू र यसका कर्मचारीहरूका लागि कडा परीक्षा रहेकाे उनको भनाइ छ।
‘यस अवधिमा कम्पनी आफैंले काम गरिरहेको छ। परिस्थिति सुध्रियो भने यो पूर्ण ठिक हुन्छ,’ उनले भने।
गतवर्ष कोरोना महामारीको कारण उडानमा केही समयको लागि प्रतिबन्धित लगाइएको थियो। त्यसपछि उडान सेवाहरू शुरु भए तर यात्रुहरूको संख्या सीमित रहे।
उड्डयन परामर्श क्यापाको एक अनुमान अनुसार भारतकाे उड्डयन क्षेत्रलाई यस आर्थिक वर्षमा महामारीको कारण करिब ४ अर्ब डलरको घाटा हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।