काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट आगामी दुई वर्षका लागि रोक्का गरेको समाचारहरुमा उल्लेख छ।
गत जनवरीको सुरुमा अमेरिकी क्यापिटल भवनमा आफ्ना समर्थकहरूबाट भएको हुलदंगालाई लिएर अवाञ्छित तरिकाले अभिव्यक्ति दिएकै कारण ट्रम्पका ती एकाउन्ट अनिश्चित कालका लागि बन्द गरिएको थियो।
फेसबुकको कमिकमजोरी अनुगमन गर्ने बोर्डले यसरी समयसीमा नतोकिकन सुनाइएको सजायको आलोचना गरेसँगै उनीमाथिको प्रतिबन्धको अवधि बढाइएको हो।
फेसबुकले पूर्वराष्ट्रपति ट्रम्पको कार्यबाट आफ्नो नीति तथा नियमको गम्भीर उल्लंघन भएको जनाएको छ।
यसै सिलसिलामा फेसबुकले अबदेखि कुनै पनि राजनीतिज्ञहरूलाई अनुचित अभिव्यक्ति दिने उन्मुक्ति नदिने जनाएको हो। फेसबुकको अन्तर्राष्ट्रिय मामिलाका लागि उपाध्यक्ष निक क्लेगले ट्रम्पमाथिको यो कारबाहीको समय गणना सुरुको प्रतिबन्ध तिथिदेखि लागू हुने जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।