काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले 'बहुल राष्ट्रिय राज्य'को माग अत्यन्तै संवेदनशील र विवादित विषय भएको बताएका छन्।
मिश्रले सरकारमै भएकाहरुले बहुल राष्ट्रिय राज्यको माग उठाउँदा देश आन्तरिकर वाह्य खतराको बाटोमा अन्मुख हुने चिन्ता समेत व्यक्त गरेका छन्।
नवनियुक्त उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि मुक्ति आन्दोलनको तयारी गर्ने भनेर दिएको अभिव्यक्तितर्फ संकेत गर्दै मिश्रले बेलैमा सजग रहन पनि ध्यानाकर्षण गराएका छन्।
संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट यस्तै प्रकारका अभिव्यक्ति आउनु अचम्मको कुरा नभएको पनि मिश्रले टिप्पणी गरेका छन्।
मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्–
बेलैमा सबै सजग हौं!
संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट 'बहूल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्ने' अभिव्यक्ति आउनु अचम्मको कुरा होइन!
कमसेकम सरकारको उप-नेतृत्व गर्दा त संविधानको पालना गरौं! संविधानले नेपाललाई 'बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक' भनेको छ। 'बहुल राष्ट्रिय राज्य' भनेको छैन, जुन अत्यन्तै संवेदनशील र विवादित विषय हो।
यही ताल हो भने देश आन्तरिक र वाह्य खतराको बाटोमा उन्मुख देखिन्छ। ढिलो गरि आएको चेतना शिक्षा होइन, पश्चतापमा सीमित हुन्छ। बेलैमा सबै सजग हौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।