काठमाडौं– बेलायतमा पुन कोरोना संक्रमितको संख्या बढ्न थालेको जनाइएको छ। बेलायतको अफिस फर नेशनल स्ट्याटिक्स(ओएनएस) ले देशमा कोरोना संक्रमितको संख्या करिब दुई तिहाई बढेको जनाएको बीबीसीले उल्लेख गरेको छ।
बेलायतमा आधिकारिक आँकडाको हिसाब–किताब राख्ने सबैभन्दा बढी स्वतन्त्र संस्था ओएनएसको आकलन अनुसार २९ मेको सप्ताहमा करिब एक लाख मानिसमा संक्रमण पाइएको छ। त्यसअघिको हप्तामा भने ६० हजार भन्दा केही बढी संक्रमित थिए।
यसको मतलब हरेक ६६० मानिस मध्ये एक व्यक्तिमा कोरोना पाइएको छ।
ओएनएसका अनुसार कोरोना बढोत्तरीको कारण भाइरसको डेल्टा भेरियन्ट हो जो सबैभन्दा पहिला भारतमा पाइएको थियो।
सरकारी आँकडा अनुसार देशमा शुक्रवार ६ हजार २ सय ७८ जनामा संक्रमण पुष्टि भएको थियो जसमध्ये ९४५ जना अस्पताल भर्ना भएका थिए भने ११ जनाको मृत्यु भएको थियो।
कोरोना संक्रमितको संख्या बढेको भएपनि गत हप्ता भन्दा अस्पतामा बिरामीको भर्ती र मृत्युको आँकडामा कमी देखिएको छ।
ओएनएसले कोरोना संक्रमण बढी देखिएको क्षेत्रमा यदी डेल्टा भेरियन्ट जाँचको व्यवस्था गर्ने हो भने त्यहाँ पहिला भन्दा धेरै संक्रण देखिन सक्ने जनाएको छ।
विश्व स्वास्थ्य संगठनले हालसालै कोरोना भेरियन्टको नामकरण गरेको छ।
भारत, बेलायत, दक्षिण अफ्रिकासमेत अन्य देशमा पाइने भेरियन्टको नाम राख्नका लागि ग्रीक भाषाको अक्षको प्रयोग गरिएको छ।
भारतमा सबैभन्दा पहिला पाइएको बी १.६१७.१ भेरियन्टलाई कप्पा र बी.१.६१७.२ भेरियन्टलाई डेल्टा भनिएको छ। साथै बेलायतमा पाइएको भेरियन्टलाई अल्फा र दक्षिण अफ्रिकामा पाइएको भेरिन्टलाई बीटा नाम दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।