काठमाडाैं- भारतमा गतवर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ। मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो।
कोरोनाको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै बेला उनीहरूको मृत्यु भएको रेलवे समितिका अधिकारीहरूले जनाएका छन्।
मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको विवरणमा उल्लेख गरिएको छ। समितिका उच्च अधिकारीहरूले यो विवरण गत बर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन्।
प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ। रेल मार्गमा मृत्यु भएकाहरूको खास संख्या भने आठ हजार ७३३ रहेको छ।
लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्नलगायतको अभाव भएको कारणले कामदारहरु रेलमार्ग हुँदै हिडेर आ आफ्ना घरतर्फ जाने क्रममा उनीहरुको मृत्यु भएको पाइएको छ।
'लकडाउनका कारण रेल मार्गमा रेल गुडेका थिएनन, तर आफ्नो घर जान चाहने पैदल यात्रुहरुको संख्या भने ठूलो थियो, तीनै मध्येका ८७ सयको मृत्यु भएको हो,' एक अधिकारीले भने।
रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभइ रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको मृत्यु भएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।