काठमाडाैं- अमेरिकी अन्तरिक्ष संस्था नासाले शुक्रग्रहको अनुसन्धान गर्ने भएको छ।
दुईवटा अभियान सञ्चालन गर्दै यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे अनुसन्धान गर्ने नासाले जनाएको हो। बीबीसीका अनुसार नासाले शुक्रग्रह कसरी आगोको गोला बन्यो भनेर अनुसन्धान गर्नेछ।
ती प्रत्याेक मिसनका लागि ५० करोड डलर बजेट प्राप्त हुनेछन्। सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन्।
पृथ्वीमा जीवन हुँदा पृथ्वी नजिकैको शुक्र किन आगोको गोला बन्यो भनेर वैज्ञानिकहरु अनुसन्धान गर्न आतुर छन्। उनीहरुले शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने छन्।
नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ। यसअघि नासाले शुक्रग्रह नजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो।
त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन्।
सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो। त्यहाँको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ।
‘यी दुई मिसनहरूले शुक्रग्रह कसरी आगोको गोलाजस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसासमेत पग्लन्छ भनेर जान्न खोज्नेछन्,’ प्रशासक नेल्सनले बताए।
डाभिन्ची प्लस नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर हेर्नेछ।
उसले शुक्रग्रहमा कुनै समय महासागर थियो कि थिएन भनेर पनि बुझ्न खोज्नेछ।
दोस्रो मिसन भेरिटासले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहास जान्नेछ अनि किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्रग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि उसले जान्न खोज्नेछ।
रेडारको प्रयोग गरेर त्यहाँ अझै ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।