काठमाडौं– सरकारी स्वामित्व समेत रहेको दरबारमार्गस्थित होटल अन्नपूर्णमा रहेको क्यासिनो विवाद पुन: सर्वोच्च अदालत पुगेको छ।
सरकारलाई रोयल्टी वापत ११ करोडभन्दा धेरै रकम तिर्न अस्वीकार गर्दै आएको अन्नपूर्ण क्यासिनो पुन: सञ्चालनमा आएपछि पूर्वकर्मचारीले यो विवाद सर्वोच्च पुर्यारएका हुन्। मजदुरहरुले आफूहरुको पुन:वहाली हुनुपर्ने, वहाल रहेको अवधिको तलब-भत्ता पाउनुपर्ने र बक्यौता रहेको रोयल्टी होटलले नै सरकारलाई तिर्नुपर्ने लगायतका माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका छन्।
यसअघि नै क्यासिनो सञ्चालक कम्पनी नेपाल रिक्रिएसन सेन्टरका मालिक राकेश बाधवा, अन्नपूर्ण होटल र मजदुरहरुले हालेको मुद्दा विचाराधीन रहेकै अवस्थामा तेस्रो मुद्दा दर्ता भई सुनुवाइ सुरु भएको हो।
नेपाल रिक्रिएसन सेन्टरले अन्नपूर्ण होटलमा २०४९ सालमा २५ वर्षका लागि क्यासिनो सञ्चालन गर्ने सम्झौता गरेको थियो। तर, रोयल्टी नतिरेपछि सरकारले २०६८ असार २ गते क्यासिनो बन्द गर्ने निर्णय गरेको थियो।
त्यसपछि उक्त क्यासिनोको अन्तरिम व्यवस्थापन अन्नपूर्ण होटलले नै लिएको थियो। अन्नपूर्ण इन्टर नेसनलका नाममा तप्तबहादुर विष्ट अध्यक्ष भई क्यासिनो सञ्चालन हुँदै आएको थियो। यसै क्रममा २०७१ बैसाख ५ गते क्यासिनो नियमावली अनुसार नवीकरण भई सञ्चालन नभएको पत्र पर्यटन मन्त्रालयले पठाएपछि होटलले सञ्चालन गरेको क्यासिनो अन्ना पनि बन्द भएको थियो।
क्यासिनो सञ्चालन गरेवापत सरकारलाई ११ करोड ६९ लाख ९५ हजार १ सय ७५ रोयल्टी बुझाउनुपर्ने भए पनि उक्त रकम नतिर्दै क्यासिनो बन्द गरिएको थियो। क्यासिनोमा कार्यरत ९ सय २२ जनाको तलब-भत्ता समेत रिक्रिएसन सेन्टर र होटलले बाँकी राखेका थिए। यसै क्रममा अन्नपूर्ण होटलमा २०७४ पुस ४ गते एटलान्टिक क्रिएसनको नाममा नयाँ क्यासिनो सञ्चालनको अनुमति पाएको थियो। तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवले रोयल्टी नतिरे पनि पुन: क्यासिनो सञ्चालन गर्न अनुमति दिएका थिए।
कर नतिर्ने तर क्यासिनो सञ्चालन गर्ने कार्य गरेकाले पुरानै अवस्थामा आफूहरु पुन:स्थापना हुनुपर्ने माग गर्दै मजदुरहरुले सर्वोच्चमा जेठ १३ गते रिट दर्ता गरेका थिए। उक्त निवेदनको पहिलो सुनुवाइका लागि न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा पेसी तोकिएको छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा होटल अन्नपूर्णमा सञ्चालित क्यासिनोले मजदुरहरुलाई पुन: काममा राख्नुपर्नेछ।
पूर्व कर्मचारीहरुको बाँकी तलब-भत्ता र सरकारको रोयल्टी नतिरी अन्ना क्यासिनो बन्द गरेर प्राइड क्यासिनोका विनय तेली शाहले एटलान्टिक क्रिएसन सेन्टर प्रालिका नाममा सञ्चालन गरेको रिटमा जिकिर गरिएको छ।
मजदुरहरुले क्यासिनो अन्नाबाट करिब ३३ करोड रुपैया लिन बाँकी रहेको दाबी गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।