काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध राख्ने भन्दै भइरहेको वार्ताको प्रक्रिया अनन्तकालसम्म चल्न नसकिने बताएका छन्।
उनीहरूले निष्कर्षविहीन वार्ताका नाममा यसैगरी अल्मलिइरहँदा एमाले पार्टी र कम्युनिष्ट आन्दोलन नै विघटनतर्फ जाने खतरासमेत औंल्याएका छन्।
नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूको बिहीबारको भर्चुअल बैठकमा बोल्ने लगभग सबैजसो केन्द्रीय सदस्यहरूले आफूहरू एकतावद्ध एमालेको पक्षमा भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता नचाहेको र अब अनन्तकालसम्म यसैगरी जान नसकिने प्रष्ट पारे।
'२०७५ जेठ २ को अवस्थामा टेकेर पार्टीलाई अझै पनि एकताबद्ध बनाएर अघि बढ्न सकिन्छ, हामीले पनि त्यो पहल गर्ने हो', बैठकमा अधिकांश सदस्यहरुले राखेका कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'तर, वार्ता भनेर अनन्तकालसम्म अल्झिनु हुँदैन। एउटा निश्चित डेडलाइन दिएर यसलाई टुंग्याउनुपर्छ। यदि त्यसरी टुंगिएन भने पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुपर्छ।'
नेपाल समूहले नयाँ पार्टी दर्ता गर्ने प्रक्रियालाई पार्टी पुनर्गठनका रुपमा अर्थ्याउँदै आएको छ। अधिकांश केन्द्रीय सदस्यहरुले यही कुरा स्मरण गराउँदै छिटो निर्णयमा पुग्न दबाब दिएका छन्। केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि नेपालले बैठकलाई सम्बोधन गर्नेछन्। बैठक जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।