काठमाडौँ- प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका ४ पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राखेका छन्।
वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पुर्याएका कुशल पर्वतारोही उनले पथ प्रदर्शकको भूमिका मात्र हैन आफ्नो किर्तिमानीमा पनि नयाँ आयाम थपे।
यो यामसहित १३औँ पटक सगरमाथाको चुचुरोमा पुगेर फुर्वाले आफ्नो नयाँ पहिचान बनाउनुका साथै आफ्नै परिवारको ७ जनाको समूहलाई सगरमाथा आरोहण गराएका छन्। उनीहरूमध्ये ४ जनाले एउटै समयमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएको आरोही फुर्वा शेर्पाले जानकारी दिए।
एउटै परिवारका एकै समयमा आरोहण गरेर किर्तिमानी कायम गर्नेमा फुर्वा तेञ्जिङ शेर्पा, फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शेर्पा र दावाडीकी शेर्पा छन्।
पृथ्वीनारायण शाहको मूर्तिसहित आरोहण
यसपटकको सगरमाथा आरोहणमा धेरै कीर्तिमानी कायम भएको छ। सोलुखुम्बुका कामिरीता शेर्पाले बैसाख ३१ गते सगरमाथाको चुचुरोमा २२ पटक आरोहण गरेर कीर्तिमान बनाए। सन् २००४ मा ८ घन्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका पेम्बादोर्जे शेर्पाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेर नयाँ किर्तिमान राखेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।
यही याममा संखुवासभाकी ल्हाक्पा शेर्पाले सगरमाथाको ९ पटक सफल आरोहण गरेर नेपाली महिलाको नयाँ कीर्तिमान कायम गरेकी छन्।
राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रोशा बस्नेतसहित ४ महिला पत्रकारले बैसाख ९ गते सगरमाथाको सफल आरोहण गरेका छन्। उनका साथै अन्य तीन पत्रकारमा टोलीनेता रोजिता बुद्धाचार्य (बिपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय), मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन्। ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूल नारासहित सो महिला पत्रकार समूह सगरमाथा आरोहणमा गएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार समूहका ५ मध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक ४ जनाले सफल आरोहण गरेका हुन्। उनीहरुले नेपाल पत्रकार महासंघको झन्डा पनि चुचुरोमा पुर्याए।
वसन्त ऋतुको आरोहण गत बैसाख ३० गतेदेखि सुरु भएर यही जेठ ११ गतेसम्म चलेको थियो।
४ सय बढीको आरोहण
यस याममा ४०० भन्दा बढीले आरोहण गरिसकेका छन्। अघिल्ला वर्षभन्दा यसपटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ। यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम राजस्व संकलन भएको छ।
सगरमाथा आरोहण सकेर धमाधम आरोही फर्कने क्रममा छन्। आरोही फुर्वा तेञ्जिङ शेर्पाका अनुसार अहिले आधार शिविरभन्दा माथि कोही पनि आरोही छैनन्। आरोहण सकेर घर फर्कन आधार शिविर र त्यसभन्दा तलतिर अनुकूल मौसमको खर्पाइमा छन्। बाक्लो हुस्सुले हेलिकप्टर पुग्न नसकेका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको छ।
आधार शिविरभन्दा तल गोरखसेपमा रहेकी आरोही पत्रकार रोशा बस्नेतले आफ्नो आरोहण सफल रहेको र सकुशल आधार शिविर ओर्लिएको बताइन्।
आरोहण सहज
मौसमले साथ दिएका कारण विगतमा भन्दा यस वर्ष सगरमाथा आरोहणमा सहज भएको छ।
मौसम राम्रो भएकाले नै योपटक आरोहण सहज भएको आरोही फुर्वाको भनाइ छ। योपटक सगरमाथामा बाक्लो हिउँ भएकाले पनि आरोहण सहज बनेको हो।
यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणका क्रममा तीन जनाको मृत्यु भयो भने एक जना बेपत्ता रहे।
सम्पर्क अधिकृत श्रेष्ठले अघिल्ला वर्षको आरोहणमा भन्दा यो वर्ष कम क्षति भएको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।