काठमाडौं- गत चैत ४ र ५ गते नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाका उद्घोषक थिए, सुरेन्द्र पाण्डे। उद्घोषणका क्रममा इतिहासलाई वर्तमानसँग जोड्ने उनको कलाले कार्यकर्ताको भरपुर ताली खाएको थियो।
त्यही क्रममा उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ नेता च्याङ काइ सेकसँग तुलना गरिदिए। त्यो यस्तो थियो, ‘सन् १९४५ मा चिनियाँ जनयुद्ध नयाँ उचाइमा पुगिरहेको थियो र माओले च्याङ काइ सेकसँग वार्ताका लागि अनुरोध गरे। हामी मिलौँ, देशका लागि हाम्रो साझा कार्यभार छन्। सेकको उत्तर थियो– एउटा आकाशमा दुईवटा सूर्य हुँदैन। वार्ताको प्रस्तावलाई दुत्कार्ने सेकको आयु केही वर्षभन्दा बढी बाँकी रहेन। उनी चिनियाँ क्रान्तिबाट सधैँका लागि परास्त बनेर जाने स्थिति बन्यो।’
वार्ताका लागि आफ्नो पक्षबाट गरिएको प्रयास ओलीका कारण असफल भएको प्रसंग सुनाउँदै सो सन्दर्भ उल्लेख गरेका थिए, पाण्डेले। एमालेको अन्तरसंघर्षको सुरुवातमा नेपाल–खनाल पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेमध्ये एक पाण्डे हुन्। पूर्वअर्थमन्त्री समेत रहेका प्रभावशाली नेता पाण्डे तत्कालीन एमालेको महासचिवमा झिनो मतान्तरले पराजित भएका थिए। एमाले दुई समूहमा विभक्त भइरहेको सन्दर्भमा नेपाल–खनाल पक्षमा उनको भूमिका ‘महासचिव’कै जस्तो देखिएको थियो, चैत ४ र ५ गते राष्ट्रिय भेलाताका।
त्यसअघि नेकपाकालमा पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीको कार्यशैलीप्रति पाण्डे निकै आक्रामक थिए। २०७७ फागुन १२ गते भरतपुरमा तत्कालीन नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले आयोजना गरेको ‘विजय सभा’लाई सम्बोधन गर्ने क्रममा ‘ओलीको सेटिङ टाइँ–टाइँ फिस’ भएकोदेखि माडीमा बन्ने राममन्दिरको ‘पुजारी’ बनाउनेसम्मका कुरा गरे उनले।
पाण्डेले भनेका थिए, ‘हिजो बेलुका एउटा प्रमाणित भयो, ओली सेटिङ टाइँ टाइँ फिस, ओली सेटिङ गयो, समाप्त भयो। ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो।’
उनले ‘ओली सेटिङ’ सकिएको घोषणा गरेको ११ दिनपछि नेकपा नाम विवादमा सर्वोच्चको फैसला आयो। जहाँ नेकपालाई पूर्व माओवादी केन्द्र र एमालेका रुपमा रहन आदेश गरिएको थियो। त्यसपछि सुरु भएको राजनीतिको अर्को मोडले नेकपाको शक्तिशाली ‘प्रचण्ड–नेपाल’ पक्ष दुईतिर विभाजित भए। एमालेमा नेपाल–खनाल पक्ष कमजोर देखियो। पार्टी फुट्ने अवस्था आयो भने नाम र चुनाव चिह्न ओली पक्षकै रहने त्यो फैसलाबाट पक्का भयो।
नेकपाकालमा अल्पमतमा पर्दा समेत नडगमगाएका ओलीका लागि त्यो फैसलाले शक्ति भरिदियो। कुनै समय ‘राम मन्दिरको पुजारी’ राख्न सिफारिस गर्ने पाण्डे अध्यक्ष मान्न तयार हुनुपर्ने अवस्था आइपुगेको छ। भरतपुरमा आयोजित त्यही कार्यक्रममा उनले भनेका थिए, ‘केही दिनअघि ओलीजी यहीँ आएर भन्नुभएछ, कहाँ छौ सांसदहरू तीन–तीन जना? म भएको भए माडीमा एउटा राम मन्दिर बनाउने थिएँ। म माडीका मेयरलाई भन्न चाहन्छु, माडीमा राममन्दिर बनाउने विषयमा चितवनबाट निर्वाचित सबै सांसदले सहयोग गर्छौं। एउटा प्रस्ताव गर्न चाहन्छु, प्रधानमन्त्री तपाईं (ओली)लाई रुचेन, त्यहाँ मन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऔँ।’
ओलीप्रति त्यस तहमा आक्रामक र सक्रिय रहेका पाण्डेको नेपाल–खनाल पक्षका पछिल्ला महत्त्वपूर्ण ‘मुभ’मा सक्रियता कम छ। पार्टीको अन्तरसंघर्षलाई वार्ताका माध्यमबाट मत्थर पार्न उनी भूमिका खेलिरहेका छन्। उनको भाषामा ‘च्याङ काइ सेक’सँग फेरि पनि हात मिलाउने भरमग्दुर प्रयास गरिरहेका छन्। उनलाई अहिले बोध भएको छ, एमालेका दुई समूह अलग–अलग भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरु धेरै छन्।
एमाले फुटको डिलतिर आइरहेको समयमा उनले यसलाई राजनीतिको एउटा घटनाका रुपमा मात्रै लिइरहेका छैनन्। गत बिहीबार इमेज टेलिभिजनको हटसिटमा सुरेन्द्र पाण्डे भन्दै थिए, ‘यदि यो पार्टी रहेन भने यसको प्रभाव के हुन्छ, नेपालको भावी राजनीतिमा? यो देशमा दुईटा महत्त्वपूर्ण राजनीतिक शक्ति स्थापित भए। एउटा, नेकपा एमाले। अर्को, नेपाली कांग्रेस। यी दुवै प्रजातान्त्रिक शक्ति हुन्। देशभक्त र राष्ट्रवादी शक्ति हुन्। यी दुई शक्ति कमजोर भए भने देशमा संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि चुनौती खडा हुन्छ।’
यही आत्मबोधका प्रभावले वार्ता कमिटीको सदस्य समेत रहेका उनी वार्ताका लागि अहिले पनि प्रयासरत छन्। त्यसले गर्दा ‘नेपाल–खनाल’ पक्षका गुटगत गतिविधिमा उनको ‘गैरहाजिरी’ र ‘निष्क्रियता’ देखिन्छ।
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत सरकार बनाउने आह्वान गर्दा नेपाल पक्षले शेरबहादुर देउवालाई अघि सार्यो। आफू पक्षीय सांसदहरुको हस्ताक्षर बोकेर नेपाल आफैं देउवासँगै शीतल निवास पुगे। त्यो दिन उक्त पक्षको सांसदको भेलामा समेत सहभागी नभएर पाण्डे एकता कार्यदलको बैठकतिर लागे। कार्यदलको बैठकमा देउवालाई प्रधानमन्त्री बनाउने उक्त हस्ताक्षर ‘ताजा’ नभएको बताए।
भोलिपल्ट फेरि नागरिकतासहित हस्ताक्षर संकलन गरेर सर्वोच्च अदालत जाने तय भयो। बानेश्वरस्थित संसद् भवनमा उक्त पक्षका सांसद नागरिकताको फोटोकपी संकलनका साथै हस्ताक्षर गराइरहेका थिए। सुरुमा पाण्डे देखिएनन्। ढिलोगरी आए। नेताहरुसँग परामर्श गरेर बाहिरिए। उनीमाथि नेपाल पक्षकै केही सांसदको संशय थियो। त्यो संशय मेट्न सञ्चारकर्मीले उनीतिर प्रश्नसहित क्यामेरा तेर्स्याए। सञ्चारमाध्यममा आफ्ना कुरा स्पष्ट राख्ने स्वभावका उनी त्यो दिन छड्किए।
उनलाई २० मिटरको दूरीसम्मै पत्रकारले पछ्याएर ‘तपाईंले हस्ताक्षर गर्नुभयो?’ भन्दै प्रश्न गरेपछि उनको प्रतिक्रिया थियो, ‘आज रिट निवेदन दर्ता हुँदैन। त्यसैले हस्ताक्षर गरिएन।’ जबकी नेपाल–खनाल पक्षका १९ जना सांसदले त्यही दिन हस्ताक्षर गरिसकेका थिए।
त्यसअघि वैशाख २७ गते उक्त पक्षका सांसदहरु राजीनामा दिन तयार हुँदा पाण्डे ‘कोरोना पोजिटिभ’ भएका कारण ‘निष्क्रिय’ रहे। त्यसबेला उनी उक्त पक्षको स्थायी कमिटी सदस्यको ‘भर्चुअल’ बैठकमा सहभागी हुने गरेका थिए। ‘होम आइसोलेसन’मा रहेको भनिएका उनी राजीनामा नदिएर अनुपस्थित हुने निर्णयमा सहमत भए।
तर, वैशाख २२ गतेसम्म उनी प्रधानमन्त्री ओलीलाई आफ्नो पक्षले विश्वासको मत दिनुपर्छ भन्नेमै थिए। कोरोना जाँचका लागि नमूना दिएर संसद् भवनबाट बाहिर निस्कँदै गर्दा लिइएको प्रतिक्रियामा उनको भनाइ थियो, ‘पार्टीभित्रको अन्तरविरोध समाधान भइसकेको छैन। त्यो अन्तरविरोध र संघर्ष जारी नै रहन्छ तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने भन्नुभएको छ, अरुले के गर्छन् थाहा छैन, हामी विश्वासको मत दिन्छौँ। त्यसमा कुनै समस्या हुँदैन। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदै गर्दा हाम्रा माग र अडान भने यथावत छन्।’
उनको पछिल्लो निष्क्रियतालाई लिएर बालुवाटारसँग पाण्डेको व्यक्तिगत मित्रता बढेको समेत चर्चा चलेको छ। प्रधानमन्त्री ओलीले गरिरहेका गतिविधिमा उनी पूर्ववत् अवस्थामै छन्। नेकपा एमाले र सूर्य चिह्न छाडेर जान उनलाई मात्र होइन, उनलाई मत दिने धेरै कार्यकर्ता समेत तयार छैनन्। त्यसले ध्रुवीकरणको यो समयमा उनी मिलन बिन्दु खोज्न लागिपरेका छन्।
उनले पहिलोपल्ट सोधिएको स्पष्टीकरण जवाफ दिँदै लेखेका थिए, ‘पार्टीमा राजनीतिक र वैचारिक समस्याहरु छन् र हुन्छन् । तर, तपाईंले पार्टी भित्रका फरक विचारलाई समाधान गर्न वैज्ञानिक तरिका अपनाउनुभन्दा पनि आफू सधैं गुटमा रमाउने र अरुको विचारलाई पनि गुटगत विचारको रुपमा हेर्ने तपाईं (ओली)को विचारले तपाईं, हामी, पार्टी र देश कसैलाई पनि फाइदा पुर्याउँदैन।’
पार्टीभित्रको फरक विचारलाई समाधान गर्ने वैज्ञानिक तरिकातर्फ ओली लागेका छैनन्। आफ्नै उही तरिका दोहोर्याइरहेका छन्। उनलाई पनि दोस्रोपल्ट स्पष्टीकरण सोधिएको छ। बालुवाटारतिर नआएमा जुनसुकै बेला एमालेविहीन बन्नुपर्ने ‘तरबार’ उनको टाउकोमाथि छ।
यस्तो बेला पनि अझै पार्टी एकता कायम रहनेमा उनी आशावादी छन्। बिहीबार साँझ टिभी कार्यक्रम ‘हटसिट’मा उनी भन्दै थिए, ‘अप्ठ्यारो छ। असम्भव छ। भीरको डिलमा पुगेको गाडी ब्याक गरेर दुर्घटना टार्न सकिन्छ। मैले आशा मारेको छैन।’
अवस्था यस्तो छः एमाले नामक गाडी डिलमा पुगेको छ, ड्राइभर ओली छन् र ब्याक गरेर दुर्घटना टर्ने आशा नेपाल–खनाल पक्षका पाण्डेले गरेका छन्! त्यसैले पाण्डेसँग दुईटा विकल्प हुन सक्छन्। पहिलो, एमालेको गाडीमै ओलीले लैजाने, डिल, भीर वा नयाँ मार्गतर्फको यात्रु हुने। दोस्रो, त्यो गाडीबाट झरेर नयाँ गाडीको व्यवस्था गर्ने। ड्राइभिङका लागि त भर्खरै ओलीले जबर्जस्ती एमालेको बसबाट झारेका नेता नेपाल तयार छन्।
गत चैत ४ गतेको राष्ट्रिय कार्यकर्ता भेला उद्घाटनका क्रममा उद्घोषक भएर पाण्डेले उद्घोष गरेका थिए– ‘आजदेखि हामी एउटै डुंगामा सवार छौं। डुंगा डुब्दाखेरि मात्रै होइन, सुनामी आउँदा पनि हामी सँगै रहनेछौं।’
तर, पाण्डे यतिखेर त्यही डुंगामा सवार भइरहने वा ओलीको पानीजहाजमा यात्रा गर्ने भन्ने मझधारमा देखिएका छन्। दुवै दृश्य स्पष्ट भइनसकेको अवस्थामा एमाले कार्यकर्तामा पाण्डेको वर्तमान अवस्थामाथि सन्देह छ- ‘च्याङ काइ सेक’सँग हात मिलाउन अभिशप्त ‘माओ’ बन्न तयार पो भइसक्नुभएको हो कि?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।