काठमाडाैं- ‘एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको टोलदेखि केन्द्रसम्मका कमिटी स्वतः फर्किनु हो। यसका बैठकका नाममा गुटका गतिविधि गर्ने, पार्टीलाई विभाजनतर्फ धकेल्नेका विरुद्ध दृढतापूर्वक उभिएका छौं। एकलौटी रुपमा गरिएका निर्णय असफल पार्न हामी आम पार्टीपंक्तिलाई आग्रह गर्दछौं।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालबीचको अन्तरसंघर्ष उत्कर्षमा पुगिरहेको थियो। त्यसैको निरन्तरता स्वरुप नेपाल-खनाल पक्षद्वारा चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाइएको थियो। त्यही भेलाबारे जानकारी दिन चैत ३ गते आयोजित कार्यक्रमको ‘विज्ञप्ति’मा रहेका माथिको ‘प्रतिबद्धता’ वाचन गर्ने विष्णु रिजाल थिए। मञ्चमा उनीसँगै नेताद्वय योगेश भट्टराई र सुरेन्द्र पाण्डे थिए। उनीहरुले आफूलाई खनाल-नेपाल समूहको ‘आधिकारिक योद्धा’का रुपमा प्रस्तुत गरेका थिए।
अध्यक्ष ओलीविरुद्ध ‘दृढतापूर्वक उभिएको’ बताउने यी तीन नेता तीन महिनापछिको माहोलमा कहाँ भेटिन्छन्? वाचक रिजाल ओली पक्षमा खुलेर लागेका छन्। नेपाल-खनाल किनाराका भट्टराई मझधारमा छन् र उक्त कार्यक्रमका ‘उद्घोषक’ पाण्डे प्रधानमन्त्री ओलीको विकल्पको सरकार खोज्ने नेपाल-खनाल पक्षको निर्णयका ‘अन्तिम’ हस्ताक्षरकर्ता बन्नुपुग्ने स्थिति छ। उपमहासचिव घनश्याम भूसाल एमालेमै संघर्ष गर्नुपर्ने ‘लबिङ’मै छन्। हस्ताक्षरको समयमा सचिव गोकर्ण विष्ट ‘बिरामी’ थिए। अहिले अन्तिम समयसम्म पार्टी एकता जोगाउने ‘इमान्दार प्रयत्न’मा रहेको बताउन थालेका छन्।
यो दृष्यले नेपाल समूहको ‘वर्तमान’ अवस्था दर्शाउँछ। एमालेभित्रको अन्तरसंघर्षले अलग्यायो भने पनि ‘नयाँ आन्दोलन (पार्टी)’ सिर्जना गर्न सकिने आत्मविश्वासमा वरिष्ठ नेता नेपाल सुरुदेखि नै छन्। त्यो आत्मविश्वासको बलियो आधार यिनै नेताहरु उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल र सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई पनि हुन्। तर, एमालेबाट ‘छुटेर जानुपर्ने’ दिनसम्म आइपुग्दा यी नामहरुमा कति बाँकी रहलान्?
प्रतिनिधि सभाको दोस्रो विघटनपछि विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (बाबुराम-उपेन्द्र) र नेकपा एमाल (नेपाल-खनाल) पक्षले लडिरहेको अहिलेको लडाइँमा त्यो समयको जस्तो सक्रियता यी नेताहरुको देखिँदैन।
यही सन्दर्भमा १५ जना नेताहरुको संयुक्त खबरदारीपत्र आएको छ। जहाँ धम्की, कारबाही र प्रलोभनबाट प्रभावित नहुने उल्लेख छ। एमालेमै रहन खोजिरहेका तर अध्यक्ष तथा प्रधानमन्त्री ओलीका कृत्यलाई कुनै हालतमा सहन नखोजेका केही प्रभावशाली नेताहरुको मनोदशा केलाउने क्रमको पहिलो शृंखलामा योगेश भट्टराई।
अलमलिरहेका योगेश
२०७७ पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे। तत्कालीन नेकपा ओली र प्रचण्ड-नेपाल पक्षमा विभक्त भयो। त्यो समय भट्टराई पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए। त्यो घटनापछि नेकपामा स्पष्ट विभाजन आइसकेको थियो। त्यसैले नेपाल पक्षका मन्त्रीहरु मन्त्रीबाट राजीनामा दिन तयार थिए। त्यो बेला पनि भट्टराई अलमलिरहेका थिए।
प्रधानमन्त्री ओलीको उक्त कदम चित्त नबुझे पनि विपक्षमै उभिन उनलाई सकस परिरहेको थियो। त्यो बेला उक्त सकसबाट मुक्ति दिलाउन नेताद्वय भुसाल र विष्ट उनको मन्त्रालयमै पुगेका थिए। सामूहिक राजीनामा बुझाउने दिन झन्डै एक घन्टा तीन जनाबीच पर्यटन मन्त्रालयमा छलफल भयो। तीनैजना राजीनामा बुझाउने निर्णयका साथ बाहिरिए।
सक्रियताका साथै वाकपटुताका कारण भट्टराई जता उभिए पनि ‘अगाडि’ रहन रुचाउँछन्। त्यसपपछि नेकपाको प्रचण्ड-नेपाल समूहमा सक्रिय नै भएर प्रधानमन्त्री ओलीको विरुद्धमा लागे। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले ब्युँतायो। त्यसपछि नेपाल-खनाल समूहमा पनि अग्रस्थानमै देखिए।
आफूले मानिआएको नेतृत्व नेपाल-खनालसहितका २३ जनाले हस्ताक्षर गरिरहँदा उनी अदालतमा पुगेनन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका कृत्यविरुद्ध त उनी छन् तर एमालेबाटै टाढिनुपर्ने गरी लाग्ने कि नलाग्ने भन्ने दोधार कायम छ।
ओली र नेपाल पक्षको अन्तरसंघर्ष चलिरहेकै अवस्थामा प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निधो गरे। त्यसअघि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग छलफल गरे पनि निष्कर्षविहीन रह्यो।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै गर्दा नेपाल समूहका सांसदहरुले ‘राजीनामा’ गरेर विद्रोह गर्नुपर्ने आवाज उठिरहेको थियो। त्यसलाई यसरी अर्थ्याइएको थियो, ‘भारतीय स्वतन्त्रताका लागि भगत सिंहले सेन्ट्रल एसेम्बलीमा बम पड्काए। तर, भाग्न इन्कार गरे। पछि उनलाई फाँसीको सजाय भयो। यस्तो ‘आत्मघाती’ कदम किन उठाएको भनेर प्रश्न गर्दा उनले भनेका थिए, ध्यानाकर्षण गराउन। उनको सिद्धान्त आत्महत्या गर्ने होइन, आत्महत्या गरेर पनि ध्यानाकर्षण गराउन सकिन्छ भन्ने थियो। त्यसैले राजीनामा आत्महत्याजस्तै त हुनसक्छ तर विधि र पद्धतिका लागि ध्यानाकर्षण गराउनुपर्छ।’
यो कदममा पनि अलमलिरहेका धेरै सांसदमा एक भट्टराई पनि थिए। भट्टराईसँगै अन्य केही सांसदहरु राजीनामा पत्रमा हस्ताक्षर गर्न अग्रसर नभएपछि २४ घन्टाको अल्टिमेटम दिइयो। त्यो अल्टिमेटमले अध्यक्ष ओलीलाई छोएन। पूर्वघोषणा कार्यान्वयन गर्नुपर्ने अवस्था आइलाग्यो। यहीबीच भट्टराईसहित नेपाल-खनाल तीन नेता संसद् सचिवालस्थित सार्वजनिक लेखा समितिको हलबाट निस्केर एमाले संसदीय दलको कार्यालयमा पुगे। जहाँ अर्थमन्त्री विष्णु पौडेल आइपुगेका थिए।
केही समय उनीहरुबीच कुराकानी भयो। तर, अपेक्षित परिणाम हात लागेन। भट्टराईले वार्ता सकारात्मक भएको प्रतिक्रिया सञ्चारकर्मीलाई दिए। भट्टराई एमाले एकता टुटाउन नहुनेमा सकारात्मक थिए। त्यसैले नेपाल समूहको राजीनामा रणनीति नै ‘अनुपस्थित’मा परिणत गर्ने निर्णयमा उनको जोडबलले पनि काम गरेको थियो।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अनुपस्थित भट्टराई उनको समूहले वैकल्पिक सरकारका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्दा पनि अनुपस्थित नै रहे।
त्यो दिन आफ्ना अलमललाई उनले यसरी प्रस्तुत गरे, ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सही गरेँ कि, गलत गरेँ इतिहासको कठोर मूल्यांकनमा खडा छु।’
आफूले मानिआएको नेतृत्व नेपाल-खनालसहितका २३ जनाले हस्ताक्षर गरिरहँदा उनी अदालतमा पुगेनन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका कृत्यविरुद्ध त उनी छन् तर एमालेबाटै टाढिनुपर्ने गरी लाग्ने कि नलाग्ने भन्ने दोधार कायम छ।
यतिबेला उनी ‘प्रतिबद्ध’ नेता रोज्ने कि ‘असल मान्छे’ भन्ने कुरामा अल्झिरहेको पछिल्लो गतिविधिबाट पनि थाहा लाग्छ।
एकपछि अर्को गल्ती गरिरहेका ओलीलाई खबरदारी गरिरहेका भट्टराईको ओलीप्रतिको सकारात्मक दृष्टिकोण पनि छ। उनका वर्तमान दोष एकछिनलाई पन्छाएर गत वैशाख ८ गते एउटा टेलिभिजन कार्यक्रममा ‘फायरसाइड’मा ती गुणमाथि चर्चा गरेका थिए। केपी ओलीलाई तपाईंले कसरी बुझ्नुहुन्छ? भन्ने प्रश्नमा भट्टराईको उत्तर थियो, ‘एउटा राम्रो डिटरमिनेसन भएको नेता हो। प्रतिबद्धता छ। छिटो निर्णय गर्न सक्नुहुन्छ। कमिटमेन्ट भएको नेता हो।’
त्यही कार्यक्रममा नेता माधवकुमार नेपालका विषयमा उनले ‘असल मान्छे’, ‘समन्वयकारी’ र ‘रिस्क जोनमा जान नरुचाउने’ नेता भनेका थिए। यतिबेला उनी ‘प्रतिबद्ध’ नेता रोज्ने कि ‘असल मान्छे’ भन्ने कुरामा अल्झिरहेको पछिल्लो गतिविधिबाट पनि थाहा लाग्छ।
सामाजिक सञ्जालमा समेत खरो रुपमा राजनीतिक टिप्पणी गर्न रुचाउने भट्टराई यतिबेला पर्यटकीय गन्तव्यका तस्बिरसहित फ्लोअर्सलाई ‘देश दर्शन’ गराइरहेका छन्। केही दिनअघि उनले ‘हाम्रो नेपाल’ भनेर हिमालसहितको तस्बिर राखे। त्यसमुनि नेपाल-खनाल पक्षकी सांसद लक्ष्मी चौधरीले लाक्षणिक कमेन्ट गरिन्- नेपाल सिक्किम हुँदै छ। सुन्दर र स्वतन्त्र हिमाली देश सिक्किम जोड्नुको अर्थ अनेक लाग्न सक्छन्। भट्टराईले बुझेका छन्।
बिहीबार ट्विटरमा भट्टराईले सुन्दर नेपाल भन्दै सगरमाथाको तेस्रो क्याम्पको तस्बिर राखेका छन्।
उनको उक्त ट्विटलाई पत्रकार/कवि रुपेश श्रेष्ठले 'कोट ट्विट' गर्दै व्यंग्य गरेका छन्, ‘तपाईं ओली क्याम्प र माधव क्याम्पबाहेकको तेस्रो क्याम्प खडा गरेर राजनीतिक आरोहणको तयारीमा भन्ने संकेत दियो नि यो ट्विटले, हो त?’
उनको वर्तमान मनोदशा अनुसार तस्बिरको अर्थ त श्रेष्ठले लगाएजस्तो पनि लाग्छ- बालुवाटार र कोटेश्वर दुवै क्याम्पबाट उनी ‘न्युट्रल’ अर्थात् तेस्रो क्याम्पमा त छैनन्?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।