काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले चार जना नेतालाई पार्टीबाट गरिएको निष्कासनबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ। सोमबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो। निष्कासन गर्ने पक्षको नेतृत्व बाबुराम भट्टराई र उपेन्द्र यादवले गरिरहेका छन्।
निष्कासनबारे अध्यक्ष यादवले निर्वाचन आयोगलाई जानकारी गराएका छन्।
‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवज्यूको अध्यक्षतामा २०७८ जेठ १७ गतेका दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सम्पन्न भयो। बैठकले पार्टी अनुशासनसम्बन्धी कारवाही बारे छलफल गरी, पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहनुभएका महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले पार्टी विधान, नीति र निर्णयहरुको विपरीत कार्य गरिरहेको सन्दर्भमा २०७८ जेठ ८ गते बसेको केन्द्रीय कार्याकारिणी समितिको बैठकले स्पष्टीकरण सोध्ने निर्णय भएअनुसार निजहरुलाई पटक-पटक स्पष्टीकरण सोध्दा पनि सोको कुनै जवाफ नदिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८(३), २५।१५(२) र पार्टीको अन्तरिम विधान २०७७ को धारा ४९ को (१)(२।३५) र (८) विपरीत काम गर्नुभएकोले पार्टी विधानको धारा ५० को (१) बमोजिम अनुशासनसम्बन्धी कारबाही भई निज चार जनालाई पार्टी सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको अवगत गराइन्छ,’ आयोगलाई पठाइएको पत्रमा भनिएको छ।


यादवले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ को (१) (२) र (३) बमोजिम दलको दर्ता किताबबाट उनीहरुको नाम हटाइ अद्यावधिक गर्न आयोगलाई अनुरोध गरेका छन्।
पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने र उनलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने विषयमा विवाद रहँदै आएको थियो। भट्टराई-यादव पक्षले ओलीको विरुद्धमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सक्रिय भएर लागेका थिए। ठाकुर पक्षले भने ओलीलाई नै प्रधानमन्त्रीमा सघाउँदै पार्टीको तर्फबाट भन्दै समर्थन पत्रसमेत दिएको थियो। ठाकुर पक्षले सरकारमा सहभागी हुनेगरी सहमति पनि गरिसकेको छ।
विवाद बढ्दै जाँदा जेठ ११ मा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए। जवाफ नआएपछि दुवै पक्षले जेठ १५ पुनः २४ गते स्पष्टीकरण सोधिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।