काठमाडौं– कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी दिने वा नदिने विषयमा सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेशी न्यायाधीशद्धय मिरा खड्का र टंकबहादुर मोक्तानको इजलाशमा तोकिएको छ। संयुक्त इजलाशको पहिलो नम्बरमा उक्त मुद्दाको पेशी रहेको छ। आइतबार ढुङ्गेलको मुद्दा न्यायाधिशले हेर्न नमिल्ने भन्दै सुनुवाइ सरेको थियो।
आइतबार न्यायाधीशद्धय चोलेन्द्र शमसेर राणा र हरिकृष्ण कार्कीको इजलाशमा ‘ख’ नम्बरमा पेशी रहेको उक्त मुद्दा कार्कीले हेर्न अस्वीकार गरेपछि सुनुवाइ सरेको थियो।
आइतबार नै मन्त्रीपरिषद्ले ढुङ्गेलबाहेक अन्य ८ सयभन्दा बढीको कैद माफी दिने निर्णय गरेको छ। ढुङ्गेलको हकमा अदालतमा मुद्दा विचाराधिन रहेको भन्दै कुनै निर्णय भएको छैन। आज सर्वोच्च अदालतको आदेशपछि मन्त्रीपरिषद्ले निर्णय लिने छ।
सर्वोच्चले ढुंगेललाई बाँकी कैद माफी दिने विषयमा दर्ता भएको मुद्दा फिर्ता लिन रोक लगाएमा मन्त्रीपरिषद्ले निर्णय गर्न पाउने छैन। तर अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेमा फिर्ता गर्नसक्ने छ।
जेठ १५ गते सरकारले आम माफी दिन लागेकाले त्यसलाई रोक्न माग गर्दै दायर भएको रिटको दोस्रो सुनुवाइ हुन लागेको हो।
शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ढुंगेललाई माफी दिनुको कारणसहित २४ घण्टाभित्र अदालत उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको थियो। शनिबार सार्वजनिक बिदाको दिन भएकाले सर्वोच्चले आइतबार दुवै पक्षको छलफलको मिति तोकेको हो।
आइतबार सुनुवाइ सरेकाले दुई दिनभित्र यसको सुनुवाइ भएर निर्णय हुनुपर्ने भएकोले सर्वोच्चले प्राथमिकता दिँदै सोमबार पेशीमा राखेको हो।
ढुंगेललाई जेलमुक्त गर्ने सरकारको प्रक्रियाविरुद्ध सर्वोच्चमा अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए।
सरकारले ढुंगेलसहित करिब ८ सय ५० कैदीलाई माफी दिई गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेको छ। त्यसका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयमा सूचीसमेत पठाइसकेको छ।
यसअघि बाबुराम भट्टराई सरकारले पनि माफी दिन खोज्दा सर्वोच्चले नै रोकेको थियो। तत्कालीन समयमा उनी अदालतको आदेश अटेर गरेर फरार रहेका थिए। तर अहिले थुनामा रहेको भन्दै सरकारले माफी दिन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।