काठमाडौं- भियतनामकाे चि मिन्ह सहरमा एक धार्मिक समारोहबाट कोरोना संक्रमण फैलिएको पाइएसँगै सबै मानिसको नमुना परीक्षण गरिने भएकाे छ।
सरकारी अखबार भियतनाम न्यूजले उक्त सहरमा इशाई धर्मको एक समारोहबाट संक्रमण फैलिएको जनाएकाे छ। याेसँगै भियतनाम सरकारले सबैभन्दा ठूलो सहरमा नौ लाख मानिसहरुकाे काेराेना परीक्षण गर्ने योजना बनाएकाे छ।
समाचारमा जनाइअनुसार दैनिक १ लाख नमुना परीक्षण क्षमताको साथ आफ्नो सम्पूर्ण जनसंख्याको परीक्षण गर्ने योजना बनाइएकाे छ। यस्तै, सरकारले काेराेना प्रकाेप नियन्त्रण गर्नका लागि प्रतिबन्धका नियमहरु लागू गरेकाे छ।
सरकारले आवश्यक गतिविधिमा र १० भन्दा बढी व्यक्तिलाई सार्वजनिक जमघट नहुन आग्रह गरेकाे छ। यसका साथै दुई हप्ताकाे लागि उक्त क्षेत्रमा लकडाउनकाे घाेषणा गरिएकाे भियतनाम न्यूजले जनाएकाे छ।
समाचारमा जनाइएअनुसार खतरनाक संक्रामक रोग फैलाएकाे अभियाेगमा प्रोटेस्टेन्ट चर्चको नेतृत्व गरिरहेका दम्पतीविरूद्ध आइतबार मुद्दा दर्ता गरिएकाे छ। प्रहरीका अनुसार चर्चका अनुयायीहरू आवश्यक दूरी र मास्कबिना सानो ठाउँमा १२५ जना भेला भएका थिए।
भियतनाम कोरोना नियन्त्रणमा तुलनात्मकरुपमा सफल देखिएको छ। यद्यपि, पछिल्लो केही सातायता भने भियतनाममा निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्या बढिरहेको छ।
भियतनामको सरकारले बेलायत र भारतमा देखिएको भेरियन्टको संयुक्त रुप फेला परेकाे जनाएकाे छ। यो भेरियन्ट हावाबाट सहजै फैलिन सक्ने विशेषज्ञहरुले बताएका छन्। अहिलेसम्म भियतनाममा सात हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ४७ संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।