काठमाडौं– प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाहरुको सुनुवाइका लागि गठित संवैधानिक इजलासबारे बहसमा उत्रिएका कानुन व्यवसायीबाट इजलासबारे नै गम्भीर प्रश्न उठेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन्।
संवैधानिक इजलासका लागि रोस्टरमा रहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन्। उनीहरु अहिले सर्वोच्च अदालतमै छलफल गरिरहेका छन्।
सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबाहेक अन्य न्यायाधीश छलफलमा जुटेका हुन्।
उनीहरुले न्यायपालिकाको नेतृत्वले निकास नदिए आफूहरुले संवैधानिक इजलास नै बहिष्कार गर्नेसम्मको छलफल अघि बढाएका छन्।
संवैधानिक इजलासका लागि प्रधानन्यायाधीश सहित १४ जना न्यायाधीश रोस्टरमा हुन्छन्। उनीहरुमध्ये पुरुषोत्तम भण्डारीले अवकाश पाएकाले अब १३ जना रोस्टरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।