फाइल तस्बिर
काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजार सडक छेउमा पार्किङ गरेर राखिएको आर जे ०१ सीसी ०८८५ नम्बरको भारतीय कारभित्र तीन बालक मृत भेटिएको घटनामा पक्राउ परेका दुवै जना धरौटीमा रिहा भएका छन्।
कारका चालक तुलसीपुर-६ का ५७ वर्षीय पदमबहादुर बस्नेत र भारतबाट कार लिएर आउने सोही वडाका ३३ वर्षीय यादवप्रसाद गैरेलाई पक्राउ गरेको थियो। उनीहरुमाथि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो।
ज्यानसम्बन्धी कसुरको दफा १८२ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुनेअनुसार उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको थियो। उक्त मुद्दाका सुनुवाइ गर्दै दाङ जिल्ला अदालतका न्यायधीश रितेन्द्र थापाको इजलासले उनीहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतले दुवै जनासँग चार लाख ५० हजार रुपैयाँका दरले धरौटी माग गरेको थियो। धरौटी बुझाएपछि अदालतको आदेशअनुसार दुवै जनालाई छाडिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले नेपाल लाइभलाई जानकारी दिए।
गत वैशाख १८ गते गैरेले भारतबाट ल्याएको कारभित्र तुलसीपुर-६ बस्ने भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्देश, सन्तोष परियारका छोरा ७ वर्षीय सुर्वण र किरण परियारका ६ वर्षीय छोरा करण कारभित्र मृत फेला परेका थिए।
अनुसन्धानका क्रममा उनीहरुको हत्या नभएको खुलेको थियो। कारको एउटा ढोका खुल्लै रहेकाले भित्र प्रवेश गरेपछि ढोका लक भएको र निसास्सिएर तीनै जना बालकको ज्यान गएको प्रहरीले निष्कर्ष निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।