काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले म्यानपावर कम्पनीको धरौटी बढाउने तयारीमा मन्त्रालय रहेका बताएका छन्।
वैदेशिक रोजगार क्षेत्रको समसामयिक विषयमा मन्त्रालय र वैदेशिक रोजगार व्यवसाय संघबीच आज भएको छलफलमा मन्त्री विष्टले म्यानपावरको धरौटी बढाउने विषयमा व्यवसायीलाई जानकारी गराएका हुन्। तर, धरौटी के–कति बढाउने भन्ने विषयमा मन्त्रीले केही पनि खुलाएका छैनन्। म्यानपावरको धरौटी अहिले २३ लाख नगद र ७ लाख बैंक ग्यारेन्टी गरी ३० लाख छ।
वैदेशिक रोजगारीको क्षेत्रमा भइरहेका समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा मन्त्री विष्टले पहिलो पटक व्यवसाय संघ र संघका पूर्व अध्यक्षहरुसँग मन्त्रालयमै छलफल गरेका हुन्। छलफलमा मन्त्री विष्टले व्यवसासीलाई यो क्षेत्रलाई बेथिति, विकृति र ठगीमुक्त बनाएर चलाउन सल्लाह दिए। कामदारलाई समस्यामा पार्ने, ठग्ने, ऐनको सीमाभन्दा बाहिर गएर काम गर्ने म्यानपावर सञ्चालकलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने उनले बताए।
वैदेशिक रोजगारीमा जाने ७० प्रतिशत कामदार म्यानपावर र तिनका एजेन्टबाट समस्यामा पर्ने गरेका छन्।
छलफलमा व्यवसायीहरुले मन्त्रालयको पछिल्लो निर्णयको स्वागत गर्दै वैदेशिक रोजगारी क्षेत्र सुधार्न संघले पनि सहयोग गर्ने बताएका थिए। मन्त्री विष्टले म्यानपावर कम्पनीले रोजगारदाता देशबाट डिमान्ड ल्याएपछि राजदूतावासबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने निर्णय गत बैसाखमा मन्त्रिपरिषद् बैठकबाट गराएका थिए। त्यस्तै, मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय बैसाख २७ गते गरेका थिए।
मन्त्री विष्टका यी दुई महत्त्वपूर्ण निर्णयपछि रोजगार व्यवसायीहरु त्रासमा थिए। मन्त्री विष्टले व्यवसायीहरुसँगको छलफलमा वैदेशिक रोजगार व्यवसाय सुधार्दै आन्तरिक श्रम बजार प्रवर्द्धन गर्ने योजना श्रम मन्त्रालयको रहेको विषयमा जानकारी गराएका थिए।
मन्त्री विष्टले पछिल्लो समय आन्तरिक श्रम बजारमा वार्षिक कति कामदार खपत गर्न सकिन्छ भनेबारे बहस र छलफल चलाइहेका छन्। उनले यस विषयमा उद्योग वाणिज्य महासंघ, रोजगार आपूर्ति संघ र उद्योगपति लगायतसँग छलफल गरिरहेका छन्।
मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचल र मन्त्रालयका सचिव, सहसचिव र अन्य कर्मचारी परिवर्तन समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।