काठमाडौं– सुन तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ले शनम शाक्य हत्यामा आफूहरुलाई जोगाएपछि प्रहरीलाई २ करोड रुपैयाँ दिने सहमति भएको बताएका छन्। जिल्ला अदालत मोरङमा दिएको लिखित बयानमा उनले डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलसँग २ करोड रुपैयाँ दिने कुरा भएको बताएका हुन्।
बयानमा उनले भनेका छन्, ‘घटनाको जिम्मा मार्ने व्यक्ति टेकराज मल्लले लिने, लाश जंगलतिर कतै राखेर मृतक परिवारलाई जानकारी दिने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने, टेकराजलाई निश्चित रकम दिने र प्रहरीले मलाई सघाएपछि २ करोड रुपैयाँ दिने कुरा भएको हो।’ तर, आफूलाई बचाउन नभई प्रहरीले झुक्याउन रकमको डिल गरेको उनको दाबी छ। प्रहरीले समेत सहयोग गर्ने यकिन नभएकाले आफू भारततर्फ गएको उनले बताएका छन्।
बयानमा उनले सई सञ्जेलसँग २ वर्षअघि चिनजान भएको र उनलाई घर बनाउन ३५ लाख रुपैयाँ सहयोग गरेको बताएका छन्। त्यसमध्ये २५ लाख रुपैयाँ फिर्ता लिइसकेको उनले जनाएका छन्।
पूर्व डिआइजी गोविन्द निरौला बुबाको साथी भएकाले चिनेको र सुन तस्करीमा सहयोग नगरेको गोरेले दाबी गरेका छन्। एसएसपी दिवेश लोहनीलाई भने आफूले नचिनेको बताएका छन्।
उनले एसएसपी श्याम खत्रीले भने सुन तस्करीमा सधैं सहयोग गर्ने गरेको बयान दिएका छन्। उनले बयानमा एसएसपी खत्रीलाई मात्र पोलेका छन्। खत्रीकै कोठामा तस्करीको सुन जाने र उनले पास गर्ने गोरेले बताए। एकपटक सुन तस्करी गरेपछि खत्रीले ५० हजार रुपैयाँ लिने गर्थे।
एसपी विकासराज खनाल, सञ्जय राउत र गोविन्द निरौलाले सुन तस्करीमा सहयोग नगरेको गोरेको दाबी छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।